जनताको साथ अगाडि कुनै गठबन्धन काम लाग्दैन : इश्तियाक राई
नेपालगञ्ज – जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र समर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गरेका छन्।
जनताको हरेक दुखसुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए।
क्षेत्र नं. २ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टीप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन्।
‘हामी कुनै राजनीतिक दलहरूसँग गठबन्धन गरेर त्यसैको भरमा चुनाव लड्न आइरहेका छैनौं। हामीलाई हामीप्रति नै विश्वास छ। हाम्रा मतदाताप्रति विश्वास छ। जनतासँग जो सधैं सँगसँगै हुन्छ, उसले कहिल्यै हार्नुपर्दैन’ उनले भनेका छन् ‘आम मतदाताले म र मेरा अरू साथीहरूप्रति देखाउनुभएको यो प्रेम र स्नेहको गुण मैले यहाँको विकास गरेर तिर्नेछु।’
चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदै लगेको छ। बिहानदेखि राति अबेरसम्म प्रतिनिधिसभाका उम्मेदवार राई, प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायत अन्य समानुपातिक उम्मेदवारहरू तथा जिल्लाका नेता कार्यकर्ताहरू जनताको घरदैलोमा पुगिरहेका छन्।