मतदाता ‘खुशी पार्ने’ प्रतिबद्धता

उम्मेदवारहरुले कतिपय आफूले गर्न नसक्ने वा क्षेत्राधिकार नै नभएका विषयमा आश्वासन दिइरहेका छन् । फेरि उम्मेदवारले दिएका कतिपय आश्वासन चाहिं वडाध्यक्षले गर्ने किसिमका छन् । त्यसैले अहिले उम्मेदवारहरुका यस्ता हाँसोलाग्दो प्रतिबद्धताप्रति मतदाता आश्वस्त हुन सकेका छैनन् ।

नेपालगञ्ज – डुडुवा गाउँपालिका–२, रामनगरका आज्ञाराम गोडियाले २०७१ सालमा बाढी आउँदा १२ घण्टा रुखमा बसेर ज्यान बचाए । तीन दिन भोकै बस्नुप¥यो । गएको असोजमा बाढी आएको बेला चार दिन आश्रयस्थलमा बसेर ज्यान जोगाए । यो त्यही गाउँ हो जहाँ राप्ती नदीमा बाढी आउँदा सबैभन्दा पहिला डुवान हुन्छ । वर्षेनी डुवानमा पर्ने यो गाउँमा बर्खामा त परको कुरा, हिउँदमा समेत जाने बाटो छैन । खेतबारी भएर गाउँमा जानुपर्छ । एक सय ५० बढी घरधुरी रहेको यो गाउँमा विजुली छैन । न स्कूल छ, न त स्वास्थ्य संस्था नै । शुद्ध खानेपानीको समस्या उस्तै छ ।

नेपालगञ्ज बजार समेटिएको बाँके क्षेत्र नं. २ मा पर्ने रामनगरमा फेरि पनि चुनावी माहौल तातिसकेको छ । अघिल्ला वर्षहरुमा जस्तै ‘उम्मेदवार’हरु घरघरमा पुगेर ‘झुठा आश्वासन’ बाँड्न शुरु गरिसकेका छन् । ‘राप्ती नदीमा तटबन्ध बनाइदिन्छु, बाटो बनाइदिन्छु, स्वास्थ्य संस्था र स्कूल बनाइदिन्छु, सोलारको व्यवस्था गर्छु’ नेताहरुले विगतमा जसरी यसपाली पनि मतदातालाई यस्तै आश्वासन दिइरहेका छन् । ‘नेताहरु चुनावका बेला आएर जहिले पनि यही कुरा गर्छन् । भोट लान्छन्, त्यसपछि फर्किएर आउँदैनन् । हामीलाई झुक्याइरहेका मात्र छन्,’ आज्ञाराम भन्छन् ।

२०७४ सालको निर्वाचनमा मधेसी जनअधिकार फोरम (जसपा) का मो. इस्तियाक राईले यो ठाउँबाट चुनाव जिते । त्यतिबेला उनी र उनका कार्यकर्ताले गाउँमा तटबन्ध, बाटो, स्कूल, स्वास्थ्य संस्था, विजुलीको कुरा गरे तर ती बाचा अहिलेसम्म पनि पूरा भएका छैनन् । यसपाली फेरि राई यहीबाट चुनावमा उठेका छन् । फेरि पनि उनका कार्यकर्ता गाउँमा गएर त्यही आश्वासन बाँडिरहेका छन् । स्थानीय सुन्दरलाल लोनियाको भनाईमा ‘यसपाली जिताइदिनुस् । अब सबै काम गर्छौ भन्दै भोट मागिरहेका छन् । हामीलाई थाहा छ, जसले जिते पनि केही हुनेवाला छैन ।’ राप्ती नदीमा तटबन्ध र सिंचाईको विषय यो क्षेत्रका सबै उम्मेदवारको प्रतिबद्धता पत्रमा समेटिएको छ । राई मात्र होइनन्, राप्रपा–एमाले गठबन्धनका उम्मेदवार डा. धवलशमशेर राणा र कांग्रेसका सुदीपनरसिंह राणाले पनि रामनगर पुगेर यस्तै आश्वासन दिएका छन् ।

उम्मेदवारहरुले कतिपय आफूले गर्न नसक्ने वा क्षेत्राधिकार नै नभएका विषयमा आश्वासन दिइरहेका छन् । फेरि उम्मेदवारले दिएका कतिपय आश्वासन चाहिं वडाध्यक्षले गर्ने किसिमका छन् । त्यसैले अहिले उम्मेदवारहरुका यस्ता हाँसोलाग्दो प्रतिबद्धताप्रति मतदाता आश्वस्त हुन सकेका छैनन् ।

बाँके क्षेत्र नं. २ का उम्मेदवारले घोषणा पत्र, प्रतिबद्धता, संकल्पपत्र, दृष्टि जे भनेपनि सधैंजसो नै समेट्ने भनेको नेपालगञ्जमा रिङरोड, राँझा विमानस्थललाई क्षेत्रीय÷अन्तर्राष्ट्रियस्तरको बनाउने, नेपालगञ्जमा विश्वविद्यालय, भेरी अस्पताललाई शिक्षण संस्थाको रुपमा विकास गर्ने, राप्तीमा तटबन्ध निर्माण, सिक्टा नहर सम्पन्न, नेपालगञ्जलाई मेडिकल हब बनाउने पर्दछन् । उम्मेदवारले ‘मत बटुल्न’ यी मुद्दालाई उठान गरेपनि विजयी भएपछि ती अजेण्डामा चासो दिएको देखिदैन । बरु, ती अजेण्डासँग सम्बन्धित विकास निर्माणका काम आफनै हिसावले सुस्त गतिमा भइरहेको पाइन्छ ।

सिक्टा गौरवको आयोजना हो, काम भइरहेको छ । भेरी अस्पतालको स्तरबृद्धि हुँदै गइरहेको छ । जनताको तटबन्ध नामक कार्यालयले राप्ती नदीमा तटबन्ध बनाइरहेको छ । रिङरोड र नेपालगञ्ज मेडिकल हब बनाउने विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले अध्ययन गरिरहेको छ । राँझा विमानस्थलको स्तरोन्नति भइरहेको छ । यी भइरहेकै योजना र मुद्दालाई सांसदहरुले आफ्नो प्रतिबद्धतामा समेटेर भोट बटुल्न लागिपरेका छन् । अझ रमाइलो त स्थानीय तहको निर्वाचनका क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवारका अजेण्डा पनि यिनै थिए । स्थानीय तहको चुनावमा पनि उम्मेदवारहरुले यही मुद्धा उठाउँदै आएका छन् ।

यी ठूला योजना र मुद्दासँगै उम्मेदवारहरुले बाटो बनाउने, पुल बनाउने, बृक्षारोपण गर्ने, सार्वजनिक शौचालय बनाउने, घरघरमा जेष्ठ नागरिक भत्ता पु¥याउने, ‘एक वडा, एक खेल मैदान’, एक वडा, एक पार्क, ढल निकास गर्ने प्रतिबद्धताहरु गरेका छन् । उम्मेदवारका प्रतिबद्धताहरु हेर्दा उनीहरु मुलुकको कानून बनाउने सांसद होइन, विकासे ठेकेदारजस्तो लाग्दछ । जसपाका उम्मेदवार मो. इस्तियाक राईले ‘दश दृष्टि’ मा शिक्षामा योगदान गर्नेलाई सम्मान गर्ने, जेष्ठ नागरिकलाई घरदैलोमा सुविधा दिने, ढल निकासयुक्त गाउँ शहर, किरियापुत्री भवन, हरित गाउँ शहर, एक जीउ एक विरुवाको नीतिलाई अघि सारेका छन् । पाँच वर्षमा पाँच वटा नमूना विद्यालय, पाँच वर्षमा कम्तीमा पाँच वटा नमूना स्वास्थ्य संस्था, समयमै मलबिउ उपलब्ध गराउने राईको प्रतिबद्धता रहेको छ ।

राप्रपा–एमाले गठवन्धनका उम्मेदवार डा. धवलशमशेर राणाले डुडुवामा कन्या स्कूल र स्नातक कलेज, राप्ती नदीको सिधनियाघाटमा शहदाह र मलाली आश्रयस्थल, ऐतिहासिक तालतलैयाको संरक्षण, भित्री सडक पक्की गर्ने प्रतिबद्धता गरेका छन् । डा. राणा मेयर हुँदा नेपालगञ्जमा कन्या स्कूल र छात्रा कलेज सञ्चालन गरेका छन् । मेयर हुँदा नेपालगञ्जमा गरेको कामलाई सांसद भएमा डुडुवामा गर्ने उनको प्रतिबद्धता रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले मसानघाटमा निशुल्क दाउरा उपलब्ध गराउने, राप्ती तटीय क्षेत्रमा बगर खेतीको शुरुवात गर्ने, कच्ची सडकको स्तरोन्नति, सबै औषधी निशुल्क उपलब्ध गराउने संकल्प गरेका छन् ।

यी प्रमुख तीनसँगै अरु साना पार्टी र स्वतन्त्र गरी क्षेत्र नं. २ मा १५ जना उम्मेदवार छन् । सबैका एउटै मुद्दा समेटिएका छन् । क्षेत्र नं. २ मा २०१७ सालमा नगर पञ्चायत र २०१९ सालमा नगरपालिका भएको नेपालगञ्ज र ग्रामीणबस्ती डुडुवा समेटिएको छ । यहाँ ९७ हजार ८ सय ९ जना मतदाता रहेका छन् । राजनीतिशास्त्री प्राडा जनार्दन आचार्यले सांसद उम्मेदवारले एक अर्काको देखासिकी गरेर आफूले के गर्ने हो भन्ने नै नबुझेर प्रतिबद्धता पत्रहरु बाहिर ल्याइरहेको बताए । उनले सबैको प्रतिबद्धता हेर्दा ८० प्रतिशत दोहोरिएको बताए । ‘सांसद उम्मेदवारले आफ्नो काम के हो भन्ने नै बुझेका छैनन्, दायित्व बुझेका छैनन् । जनतालाई झुक्याउन महत्वकांक्षी योजनाहरु अघि सारेका छन्’, प्राडा आचार्यले भने, ‘सबैका प्रतिबद्धताहरु कर्मकाण्डी छन्, औचित्यहीन छन् । जनताले यस्ता कुरा बुझ्दै गएका छन् ।’

उम्मेदवारहरुले जहाँ जुन टोलमा पुग्छन्, त्यहाँको समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने आश्वासन दिइरहेका छन् । त्यहाँका जनतालाई ‘खुशी’ बनाउन त्यही मुद्दालाई प्रतिबद्धतामा समेट्ने गरेका छन् । नगरपालिका र गाउँपालिकाले अघि बढाइरहेको र चलिरहेको योजनालाई सांसद उम्मेदवारले आफ्नो प्रतिबद्धतामा समेटेका छन् । उनीहरु जसरी हुन्छ, जनता झुक्याउने योजनामा छन् । डुवान क्षेत्र डुडुवा–१, कृषि चौफेरीका भिखाई पासीले चुनावको बेलामा नेताहरुले समस्या समाधान गर्ने प्रतिबद्धता गरेपनि चुनावपछि विर्सिने गरेको बताए । वर्षेनी राप्ती नदीको डुवानमा पर्ने कृषि चौफेरीमा पनि जाने बाटो छैन । गाडी जान समस्या भएपछि उम्मेदवारहरु मोटरसाइकलमा गएर जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । पासी भन्छन्, ‘सबै उम्मेदवारहरु डुडुवा खोलामा मोटरसाइकल डुबाएर गाउँमा आइरहेका छन् । आफूलाई भोट चाहिएकाले यति दुःख गरिरहेका छन् । जितेपछि उनीहरु फर्किदैनन्, न त प्रतिबद्धताहरु नै पूरा गर्छन् ।’

अधिवक्ता लोकबहादुर शाहले सांसद उम्मेदवारको घोषणापत्र हेर्दा नगरपालिकाको उम्मेदवारजस्तो लागिरहेको बताए । ‘राष्ट्रिय योजनाका कुराहरु गर्नु स्वभाविक छ । उनीहरु त बाटो, नाली, ढल, शौचालय बनाउने कुरा गरिरहेका छन्’, अधिवक्ता शाहले भने, ‘कानून निर्माण, राष्ट्रिय मुद्दामा मेरो प्रतिबद्धता हुन्छ भन्नुपथ्र्यो । जे बुझेका छन् । त्यही गरेका छन् । उनीहरुले संघीय सरकारको प्रतिनिधि हुँ भन्ने बुझ्नुपथ्र्यो जुन बुझेनन् ।’

बाँके क्षेत्र नं. २ कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्र थियो । कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले कोइरालाको पालामा भए÷गरेका योजना र कामलाई देखाएर पछिल्लो समस्यालाई प्रतिबद्धतामा उठान गरेका छन् । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले आफु दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा गरेका र अब हुनुपर्ने कामलाई उजागार गरिरहेका छन् । जसपाका मो. इस्तियाक राईले मन्त्री हुँदा गरेका कामलाई समेट्दै अन्य समस्यालाई त्यसैगरी समाधान गर्ने विषय प्रतिबद्धतापत्रमा समेटेका छन् । जे होस्, विगतका काममा जस लिने र अहिले जे समस्या देखिन्छ, त्यसलाई प्रतिवद्धतापत्रमा उल्लेख गर्दै आफुले समाधान गर्ने वाचासहित उम्मेदवारहरु आफ्नो पक्षमा जनमत पार्न लागिपरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !