रोजगारी, शिक्षा र विवाहको नाममा बेचबिखन
नेपालगञ्ज – शक्ति समूहकी संस्थापक चरिमाया तामाङले मानव बेचबिखन भारतमात्रै सीमित नरहेको बताउनु भएको छ ।
शक्ति समूहले नेपालगञ्जमा आयोजना गरेको मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवालासँगको कार्यशालामा बोल्दै तामाङले मानव बेचबिखनको गन्तब्यसँगै स्वरुप पनि परिवर्तन भएको बताउनुभयो ।
उहाँका अनुसार, अहिले भारतसँगै विभिन्न देशमा जोखिमपूर्ण यात्रा र बेचबिखन भइरहेको छ । नेपालमै पनि बेचबिखन भइरहेका छन् । पछिल्लो समयमा बैदेशिक रोजगारी, शिक्षा र विवाहको नाममा बेचबिखन भइरहेको छ । ‘भारतमा मात्रै होइन, तेस्रो मुलुकमा पनि रोजगारी, शिक्षा र विवाहको नाममा बेचबिखन भइरहेको छ, तामाङले भन्नुभयो, को कतिबेला जोखिममा पर्छ भन्ने सकिने अवस्था छैन ।’
बेचबिखनको उदाहरण दिदै तामाङले काठमाडौंको एक खाजाघरमा पुग्दा किचन नै फेला नपरेको तर १४ वर्षदेखि २० वर्षसम्ममा कुन उमेरलाई बोलाइदिउ भन्ने जवाफ आएको खुलाउनुभयो । त्यहाँ १४ वर्षकी बालिकालाई दिनमा १५-२० जनासम्मले यौनसम्बन्ध राखेको पाइएको थियो ।
शक्ति समूहले हालै पेरिसकी एक महिलालाई काठमाडौंबाट उद्धार गरेर स्वदेश पठाइदिएको छ । एक वर्षदेखि काठमाडौंमा बन्धक बनाइएका उनलाई शक्ति समूहले दश दिन आफूसँग राखेर स्वदेश पठाइदिएको थियो ।
शक्ति समूहले मानव बेचबिखन रोकथाम, उद्धार, पुनस्र्थापनामा काम गर्दै आएको छ । नेपालगञ्जमा पनि आपतकालिन आवासगृह सञ्चालन गरेको प्रदेश प्रमुख निर्मला पौडेलले जानकारी दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बेचबिखनका घटना दिन प्रति दिन नयाँ तरिकाले भइरहेकाले यो अपराधलाई रोक्न शैक्षिक जागरण बढाउनु पर्ने बताउनुभयो ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीले मानव बेचबिखन रोक्नका लागि सबैले हातेमालो हुनु पर्ने बताउनुभयो ।
मानव बेचबिखनविरुद्ध काम गर्ने नेपाल र भारतका संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा मानव बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताइएको थियो ।