नेपालगञ्जमा एमाले–राप्रपाको ३२ बुँदे प्रतिबद्धता पत्र
नेपालगञ्ज – बाँके क्षेत्र नं. २ को एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । यो क्षेत्रमा प्रतिनिधि सभामा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङ उम्मेदवार रहेका छन् ।
क्षेत्र नं. २ मा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको छ । एमाले र राप्रपा गठबन्धनका उम्मेदवारले दुवै ठाउँलाई फोकस गरेर प्रतिबद्धता पत्र बनाएका छन् ।
डुडुवामा कन्या स्कूल र स्नातक कलेज, तालतलैयाको संरक्षण, नेपालगञ्जलाई मेडिकल हब बनाउन टुरिजमलाई प्रोत्साहन, नेपालगञ्ज–डुडुवा कनेक्टिड रोड विस्तार र स्तरोन्नति, सिंचाई प्रवन्ध, राप्ती नदीको कटान, डुवान र पटान रोक्न तटबन्ध, हरियाली र सफा शहरका लागि बृक्षारोपण, नेपालगञ्ज बाहिरबाट आउटर रिङरोड निर्माण, विश्व विद्यालय स्थापनाका लागि पहल गर्ने, मल उद्योग बनाउन पहल गर्ने, डुडुवामा खेल मैदान बनाउने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवारसँगै राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, दिपा शर्मा, पूर्व केन्द्रीय सदस्य देवराज भारलगायतको उपस्थिति रहेको थियो ।