बांकेकाे विभिन्न ठाउंमा मेला
शिवराज साहु (नेपालगञ्ज) –
पूर्णिमा स्नान एवं तीन दिवसिया मेला एउटै समयमा कार्तिक पूर्णिमाको दिन लाग्ने गर्दछ । जसमा बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सिधानियाघाटमा पूर्णिमा स्नान मेला, होलिया मेला तथा जानकी गाउँपालिकाको जोगागाउँ एवं गुरुवागाउँमा मेला लाग्ने गर्दछ ।
उक्त क्षेत्रहरुमा अवधी समाजको बहुल्यता रहेको तथा अवधी समाजको इतिहास, सँस्कृति एवं परम्परा झल्किने प्रकारको मेला लाग्ने गर्दछ । अवधी समाजको धरोहरको रुपमा मानिने साँस्कृति मेला बाँके जिल्लाको चार स्थानहरुमा कार्तिक महिनाको पूर्णिमा स्नान मेला बिहानै उठी स्नानघाटमा गइ स्नान गरी मनाउने परम्परा सँगै आजबाट चतुर्मास समापन पनि हुने विश्वास रहेको पाईन्छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वासका साथै यो समय भगवान विष्णु निद्रमा हुने भएकोले शुभ तथा मंगल कार्यहरु रोकिएको मानिन्छ ।
चतुर्मासको समापन कार्तिक पूर्णिमा स्नान पछि हुने गर्दछ । यसै सँगै शुभकार्यको नयाँ शुरुवात गर्न मिल्ने, आजबाट चिसो शुरु हुने तथा हाम्रो सनातन हिन्दू समाजमा विवाह, व्रतबन्धका साइतहरु अनि ठूला पूजापाठहरुको फेरी शुभकार्यको थालनी गर्न सकिन्छ भन्ने हाम्रो सनातन हिन्दू समाजको विश्वास रहेको छ । यसको साथै डुडुवा गाउँपालिकामा दोश्रो मेला हुने होलियागाउँ मेला जहाँ पाँच दिनसम्म अवधि समाजिक साँस्कृतिक मेला हुने गरेको छ । जानकी गाउँपालिकाको जोगागाउँ र गुरुवागाउँमा तीन दिने मेला लाग्दछ ।
जोगागाउँमा अवधी समाजको लागि एक विशेष धार्मिक स्थल रहेको पाइन्छ । अवधी समाजका मानिसहरु विवाह, व्रतबन्ध, शुभकार्यहरु, इत्यादी साँस्कृतिक कार्यक्रम उक्त स्थानमा प्रचिन भगवान शिवको मन्दिरसँगै रहेको पुरानो तलावमा गर्ने चलन रहेको पाईन्छ । प्रत्येक वर्ष कार्तिक पूर्णिमाको स्नान गरी दोस्रो ठूलो मेला जोगागाउँको शिव मन्दिरमा हुने गर्दछ । अहिले उक्त मन्दिरको अवस्था जीर्ण भइसकेको छ ।
मन्दिरको विषयलाई लिएर कुनै पनि सरोकारवाला ध्यान तान्न सकेको छैन । यसै गरी गुरुवागाउँको शिव मन्दिरमा पनि तीन दिवसिय साँस्कृति मेला हुने गर्दछ र त्यहाँ रहेको तलामा विषेश पुजाअाजा गरी मेला मनाउने चलन रहेको छ ।