नेपालगञ्ज म्याराथनलाई उचाईमा लैजान प्रतिबद्ध छु : मेयर
नेपालगञ्ज – उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नेपालगञ्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभूति भएको बताउँदै प्रमुख बिष्टले नेपालगञ्ज म्याराथन शहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताउनुभयो । ‘आर्थिक, नैतिक र प्राविधिक हरेक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ,’ प्रमुख बिष्टले भन्नुभयो, ‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा साझेदारी गर्न तयार छौं ।’
केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउनुभयो । ‘हामीले उत्पादनको बजारी प्रवद्र्धनका कारण मात्र जोडिएका छैनौं, आयोजकले स्तरोन्नति गर्दै गएको हुँदा हरेक सुखदुखमा साथमा रहेका छौं,’ सिइओ छाजेडले भन्नुभयो, ‘नेपालगञ्ज म्याराथनको सहयात्रा निरन्तर दिने सोंचमा छौं ।’
सहप्रायोजक शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथराले धारा नेपालगञ्ज म्याराथनको चर्चाले नेपालगञ्जको प्रतिष्ठा बढेको अनुभूति हुने भएकाले आफुले सहयात्रालाई निरन्तरता दिइरहेको चर्चा गर्नुभयो ।
पत्रकार भेटघाटमा उपमहानगरपालिका प्रमुख बिष्ट, धाराका सिइओ छाजेड, शिखर प्लाईका प्रबन्ध निर्देशक बोथरा र नेपालगञ्ज म्याराथन संस्थापक÷अध्यक्ष टीएस ठकुरीले टिसर्ट सार्वजनिक गर्नुभयो ।
आठौं धारा नेपालगञ्ज म्याराथन मंसिर २४ गते शनिबार हुँदैछ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
यसबर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
नेपालगञ्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहने आयोजकले जनाएको छ ।