डुडुवाका विस्थापितलाई खाजा र खानाको व्यवस्था, स्वास्थ्य जाँच

डुडुवा – बाँके डुडुवा गाउँपालिकाका बाढी पीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा आश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गरी तयारी खाजा र खानाको व्यवस्था गर्नुभएको छ ।

गाउँपालिका वार्ड नं. १ का छिटाईपूर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना, र सोही वडा अन्तर्गत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपूर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट विस्थापित भएर गाउँ नजिकै पालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि ज्यान सुरक्षित गर्दै आश्रयस्थलको शरणमा पुगेका स्थानीयलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयलाई राहतको सामाग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउ चाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुर्सानी, गुण आलु, खाना पकाउने ग्याँस चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानी लगायतको सामाग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केही दिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ ।

अध्यक्ष चौधरीले भन्नुभयो, अब केही दिनसम्म भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ ।

वडा सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारीद्धय विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामाग्री लगेर वाढी पीडितलाई उपलब्ध गराएको छ । उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेतले सहयोग गरिरहेको छ ।

यसैबीच गाउँपालिकाको स्वास्थ्य शाखाले वाढीपीडितका लागि स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । शिविरमा वाढीपीडिको स्वास्थ्यको चेकजाँच, निशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताउनुभयो ।

उहाँका अनुसार बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधी उपचार गरेको स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले बताउनुभयो । स्वास्थ्य शाखाका सहसंयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मा लगायतको टिमले स्वास्थ्य चेकजाँच गरेको हो । बाढी र डुबानबाट बाँके जिल्लाको सो क्षेत्र सबै भन्दा बढी प्रभावित हुने गर्दछ । पालिका अध्यक्ष चौधरीले बाढी पीडितहरुको उद्धार, राहत र व्यवस्थापनका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै उनीहरुलाई सक्दो सुरक्षित र उद्धारको कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !