उम्मेदवार बन्न पार्टी परिवर्तन
नेपालगञ्ज – माओवादी केन्द्रका नेता आदेश अग्रवाल पार्टीबाटै टिकट पाउने आशामा थिए । वर्षमान पुनसँग निकट सम्बन्ध रहेकाले टिकट पाउने आशा थियो, अग्रवाललाई । उनीहरुको बीचमा बेलाबेलामा मोबाइलको मेसेन्जरमा च्याट हुँदा पनि टिकट पक्काजस्तै कुराकानी
हुन्थ्यो ।
ठूला नेताहरुले दिएको आश्वासनलाई आधार मान्दै अग्रवालले चुनाव लड्ने मनस्थिति बनाइसकेका थिए । नेपालगञ्जका प्रतिष्ठित व्यापारी अग्रवालले अन्तिममा टिकट पाएनन् । उम्मेदवारी दर्ताको दिन अग्रवाल एकाएक जनता समाजवादी पार्टी (जसपा) का नेता एवं मन्त्री मो. इस्तियाक राईसँग देखिए । नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा टिकट पाएपछि अग्रवाल जसपामा समेटिए ।
माओवादीका नेता अमर खड्का पनि अन्तिममा जसपाबाट उम्मेदवार बनेका छन् । पार्टीले टिकट दिने विश्वासमा रहेका खड्का टिकट नपाएपछि जसपा गएका छन् । खड्का जसपाबाट राप्तीसोनारी र नरैनापुर क्षेत्र समेटिएको क्षेत्र नं. १ को प्रदेश ‘क’बाट प्रदेश सदस्यमा उम्मेदवार बनेका छन् ।
उम्मेदवारी दर्ताको दिन माओवादीका अग्र्र्रवाल, खड्कासहित अतहर फारुकी, पूर्ववडाध्यक्ष जुम्मन खाँ जसपा प्रवेश गरेका छन् ।
क्षेत्र नं. ३ मा कांग्रेसका नेता चन्तराम थारु टिकट नपाएपछि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका छन् ।
बाँकेमा रातारात पार्टी परिवर्तन गरेर उम्मेदवार बन्नेमात्रै होइन, गठबन्धन पनि ध्वस्त भएको छ । सरकारी गठबन्धनबाट अलग्गिएको जसपाको अन्यत्र एमालेसँग तालमेल भएपनि बाँकेमा भएको छैन । बाँकेमा एमालेले राप्रपासँग तालमेल गरेको छ । क्षेत्र नं. २ को प्रतिनिधि सभा र क्षेत्र नं. १ को एउटा प्रदेश सदस्य दिएर एमालेले दुई वटा प्रतिनिधि सभा र पाँच वटा प्रदेश सदस्य लिएको छ । क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा उम्मेदवार बनेका छन् । प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. २ मा सरकारी गठबन्धनमा पनि दरार आएको छ । कांग्रेसले सुदिपनरसिंह राणालाई प्रतिनिधि सभा र प्रदेशमा सुरेन्द्र हमाल र राजकुमार बर्मालाई अघि सारेको छ । कुनै भाग नपाएपछि माओवादीले प्रदेशमा अकलबहादुर बमलाई उम्मेदवार बनाएको छ । नेकपा समाजवादी पार्टीले प्रदेशमा समसुद्दिन सिद्धिकी र विनयचन्द्र गुप्तालाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. २ जसपाबाट मो. इस्तियाक राई प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । यहाँ जसपा एक्लै चुनावमा होमिएको छ । क्षेत्र नं. २ मा शिवसेनाका दिवाकर खनालले पनि उम्मेदवारी दिएका छन् । राप्रपा नेपालका रमेश अर्याल पनि उम्मेदवार बनेका छन् ।
क्षेत्र नं. १ मा सरकारी गठबन्धनबाट माओवादीका महेश्वर गहतराजले प्रतिनिधि सभा र एउटा प्रदेशमा माओवादीका कृष्णा केसी र एउटामा कांग्रेसका फुलाराम थारु उम्मेदवार बनेका छन् । यहाँ एमाले राप्रपाबाट एमालेका सूर्य ढकाल प्रतिनिधि सभामा र प्रदेशमा एउटामा एमालेका दुर्गा थारु र अर्कोमा राप्रपाका नरेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
क्षेत्र नं. ३ मा एमाले राप्रपाबाट एमालेका किस्मत कक्षपति प्रतिनिधि सभा र प्रदेशमा एमालेका भीम वली र रत्न खत्री उम्मेदवार बनेका छन् । कांंग्रेस र माओवादी गठबन्धनबाट कांग्रेसका किशोर राठौर प्रतिनिधि सभा र प्रदेशको एउटामा कांग्रेसका बादशाह कुर्मी र अर्कोमा माओवादीका आइपी खरेल उम्मेदवार बनेका छन् । यहाँ पनि सरकारी गठबन्धनमा मिल्ती देखिएको छैन । नेकपा समाजवादीका दलबहादुर सुनार र दीपक जीएमले उम्मेदवारी दर्ता गराएको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए ।