दशैं मान्न फर्किए नेपाली
नेपालगञ्ज – भारतका विभिन्न शहरमा काम गर्न गएका नेपाली दशैं मान्न घर फर्किएका छन् ।
नेपालगञ्जको जमुनाहा नाकामा यतिबेला घर फर्किएका नेपालीको भीड देख्न सकिन्छ । शनिबार विहान जमुनाहा नाकामा घर फर्किएका नेपालीको लर्को नै थियो ।
मौसमी कामका लागि भारतको कालापहाड, प्रयाग, सिमला, लद्दाक, कारगिललगायत ठाउँमा पुगेका नेपाली दशैं मान्न घर फर्किएका हुन् ।
नेपालगञ्ज नाकामा यतिबेला दैनिक पाँच हजार बढी नेपाली घर फर्किरहेका छन् । विशेष गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस मौसमी कामका लागि भारतमा जाने गर्दछन् । घरपरिवारसँग बसेर दशैं मनाउन उनीहरु घर फर्किरहेका छन् ।
रुकुमका हरि विकले अरु बेला बाहिर रहेपनि चाडबाड घरपरिवारसँगै बसेर मनाउनका लागि आएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज वरिष्ठ सई माधव रिजालले दैनिक पाँच हजार बढी मानिस दशैं मनाउन घर फर्किरहेको जानकारी दिनुभयो । नाकामा आइपुगेपछि वा यात्राका क्रममा नेपाली लुटिने घटना यसपाली सुनिएको छैन । नाकामा पुगेर आफ्ना होटलमा लैजान तानातान गर्ने होटल सञ्चालक वा प्रतिनिधिलाई प्रहरीले कडाई गरेको छ । भारतीय प्रहरीले शनिबार मात्रै दश जना होटल सञ्चालकलाई समातेर कारबाही अगाडि बढाएको छ ।