स्वदेशमै सामान खरिद गर्न व्यापारीको नाकामा सचेतना
नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले नाकामा पुगेर स्वदेशमा सामान खरिद गर्न आग्रह गरेका छन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन् ।
व्यापारीले सामान खरिद गर्न सीमापारी रुपैडिहा जान थालेका नेपालीलाई सस्तोको नाममा भारतमा खरिद गर्दा धोका हुने बताए । उनीहरुले सीमापारी सस्तो पाइन्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरे ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमावारी नै बजार प्रवद्र्धन गर्नका लागि स्वदेशमै खर्च गरेर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु आग्रह गर्नुभयो ।
संघका महासचिव चिरञ्जीवी ओलीले सस्तोको नाममा रुपैडिहा पुगेका व्यापारी ठगिने गरेको बताउनुभयो ।
दशैंको मुखमा रुपैडिहा किनमेल गर्न जानेको भीड छ । यही बेलामा नेपालगञ्जका व्यापारीले अवैध सामान रोक्न भन्सारलाई दबाब बढाएको छ । व्यापारीहरुले नाकामा पुगेर स्वदेशमै सामान खरिद गरौं भन्ने पर्चा वितरण गरेका थिए ।
संघले शुक्रबार राष्ट्र बैंक अगाडि धर्ना दिएको थियो । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको संघले विरोध गरिरहेको छ ।