राष्ट्र बैंक अगाडि व्यापारीको धर्ना
नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सहजताका आधारमा व्यवसायलाई सहज हुने गरी राष्ट्र बैंकले नीति संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, ऋण (साँवा÷ब्याज) असुलीको नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सूचना पठाई आतंकित बनाइरहेका छन् । संघको यसको विरोधमा छ ।
संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गर्नुभयो ।
दशैंको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्न जोडदार माग गरेका छन् । उनीहरुले खुल्ला नाकाहरुमा कडाई गर्न नसकेपनि सिधा बाटोबाट आउने अवैध सामान रोक्न आग्रह गरेका छन् । त्यसका लागि शनिबार विहान उनीहरुले नाकामा सचेतना कार्यक्रम गर्ने तयारी गरेका छन् ।