छोरी पढाउन साढे बीस लाख

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छोरी पढाउनका लागि बजेट छुट्याएको छ ।

छोरीलाई उच्च शिक्षासम्म पढाउन र बालविवाह रोक्नका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको हो । ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण’का लागि उपमहानगरपालिकाले बीस लाख पचास हजार रुपैया छुट्याएको छ ।

उपमहानगरपालिकाले केही दिनमा सूचना जारी गरेर गरीव, विपन्न, अल्पसंख्यक, जनजाती, आदिवासी बालिकालाई छनौट गर्ने जनाएको छ । छनौटमा परेका बालिकाको मुद्दति खाता खोलेर पैसा जम्मा गरिने छ । त्यो पैसा उसले २० वर्ष पुगेपछि निकाल्नु पर्छ । त्यतिबेला पढाईमा निरन्तरता हुनुपर्दछ । उपमहानगरपालिकाले राखिदिएको पैसा उसले २० वर्षपछि निकालेर विवाहमा खर्च गर्न पनि सक्छ र पढाईमा निरन्तरता दिन पनि सक्ने कार्यविधि बनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाका प्रमुख उपसचिव शोभा शाहका अनुसार, निर्देशिकामा बालिकाको खातामा २५ हजार रुपैया राखिदिने भनिएको छ । १५ हजार राखेर अलि धेरै जनालाई दिने कि भन्ने पनि कुरा भइरहेको छ । आगामी बोर्ड बैठकले यो विषय टुंग्याउँछ ।

उपमहानगरपालिकाले यो कार्यक्रम गतवर्ष नै अगाडि बढाउने तयारी गरेको थियो । दश लाख पचास हजार रुपैया पनि छुट्याएको थियो । प्रत्येक वडाबाट दुई÷दुई जना छनौट गरेर पठाउन भनेको थियो । स्थानीय चुनावले गर्दा वडाबाट सिफारिस आएन । कार्यक्रम पनि शुरु
भएन ।
गतवर्षको साढे दश लाखमा यो वर्ष दश लाख थपेर कार्यक्रमलाई साढे २० लाखको बनाइएको छ । यसपाली पनि वडाबाट केही, मेयर र उपमेयर केही बालिका छनौट गर्ने रणनीतिलाई अघि सारिएको छ ।

नेपालगञ्जमा बालविवाह बढी नै छ । बालिकालाई ५-६ कक्षासम्म पढाउने र विवाह गरिदिने गरेको पाइन्छ । यद्यपि, पछिल्लो दिनमा खुलेयाम हुने बालविवाह रोकिएको छ । सुटुक्क वा भारतमा रहेका आफन्तीको घरमा लगेर बालविवाह गरिदिने गरेको पाइन्छ ।

मधेसी, मुस्लिम समुदायमा परम्पराको नाममा बालविवाह गरिदिने र पहाडी समुदायका बालिका फेसबुकलगायतमा माया प्रेम गरेर भागीविवाह गर्ने गरेको पाइन्छ । अभिभावकले छोरीलाई पढाएमा बालविवाह न्यूनीकरण हुने विश्वास गरिन्छ । उपमहानगरपालिकाले पनि बालिकाको खातामा पैसा नै राखिदिएर पढाउन प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

त्यसो त नेपालगञ्जमा बालिकालाई पढाउन कन्या स्कूल सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा सल्यानीबंगलामा कन्या मावि सञ्चालनमा रहेको छ । त्यहाँ गरिव, विपन्न, मधेसी, मुस्लिम समुदायका बालिकाको बाक्लो उपस्थिति रहेको छ । यही बालिकालाई फोकस गरेर नेपालगञ्जमै छात्रा (कन्या) कलेज सञ्चालन गरिएको छ । मंगलप्रसाद स्कूलको हाताभित्रै नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा कन्या कलेज सञ्चालन गरिएको हो । बालिकालाई फोकस गरेर उपमहानगरपालिकाले विविध गतिविधि गरिरहेको छ । नेपालगञ्जमा छोरीलाई पारी भारतमा पढाउने चलन पनि छ । विहेवारी उतै गर्दा सजिलो हुने ठानेर ठूला घरानियाले छोरीलाई सीमावर्ती भारतीय स्कूलमा पढाउने गर्दछन् । जो घरमै आइपुग्ने भारतीय स्कूलको सवारी साधनमा स्कूल जाने गर्दछन् ।

नेपालगञ्जमा जस्तो अभियान डुडुवा गाउँपालिकाले यसअघि नै गरिसकेको छ । डुडुवामा छोरी जन्मिने वित्तिकै खाता खोलेर पालिकाले पैसा राखिदिन्छ । जसलाई २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन्छ । ढिलै भएपनि उपमहानगरपालिकाले राम्रो योजना ल्याएको छ । यसलाई राजनीतिसँग नजोडेर बास्तविक गरीव, विपन्न परिवारका छोरीसम्म पु¥याउनु पर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !