अब मेसिनबाट गुन्द्रुक र सेलरोटी
नेपालगञ्ज – नेपाली खानाका परिवारका हुन्, गुन्द्रुक र सेलरोटी । सागलाई खादेर गुन्द्रुक बनाइन्छ । सेलरोटी मैदा (पिठो) को हुन्छ । तेलमा बनाइन्छ । कराईमा तेल हालेर तातिएपछि पिठोलाई हातले घुमाएर झारिन्छ ।
यी दुवैको स्वाद नेपालीको जिब्रोसँग परिचित छन् । यसका आफ्नै महत्व पनि छ । गुन्द्रुक र सेलरोटी नखाएका नेपाली त छैनन् होला । प्रत्येक नेपालीको घरमा यी दुवै खाना बन्छन् । गुन्द्रक र सेलरोटी हातले बनाएको देख्दै आइएको छ ।
तर, अब गुन्द्रक र सेलरोटी मेसिनबाट बनाउने तयारी भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गुन्द्रक र सेलरोटीलगायत मेसिनबाट बनाउदै हुनुहुन्छ । ‘सेलरोटी हाल्ने मेसिन बनाइरहेका छौं । ७ महिना जति भयो त्यसमा लागेको, पुनले भन्नुभयो, गोलो बनाउन सकेका छैनौ । बनाउदैछौं ।’ पुनका अनुसार, गुन्द्रुक बनाउने मेसिनको ८० प्रतिशत काम सकिएको छ । केही महिनाभित्रै बजारमा आउँछ ।
ड्रोनबाट दुर्गम ठाउँमा औषधी पुर्याउने, अदुवाको सबड्रिंक, वेटरले ट्याब्लेटबाट अर्डर लिने, बाली खाने जंगली जनावर धपाउने उपकरण, तरकारीलाई केही दिनसम्म कुहिन नदिन चिसो बाकसलगायत ३२ आइटम आविष्कार केन्द्रले बनाइरहेको छ । ‘३२ मध्येमा केहीको काम सकिने अवस्थामा पुगेको छ, छिट्टै बजारमा आउँछ, पुनले भन्नुभयो, सफल हुँदा त्यसले राम्रो बजार पाउँछ भन्ने लागेको छ ।’
सरकारले आविष्कार र अनुसन्धानमा ठूलो लगानी नगरेकोमा पुनलाई अचम्म लागेको छ । ‘आविष्कार तथा अनुसन्धान त आर्थिक विकासको इन्जिन हो । सरकारले इन्जिनमा लगानी नगरेर जहाज उडाउने कुरा गरिरहेको छ, पुनले भन्नुभयो, देशलाई समृद्धि गराउन, आर्थिक अवस्था सुधार्नु पर्छ । त्यसको लागि आविष्कार र अनुसनधानमा जोड दिनुपर्छ ।’
आविष्कार तथा अनुसन्धानमा शतप्रतिशत नतिजा आउदैन । १५ देखि २० प्रतिशत नै सफल हुने हो । कतिपयले यसलाई बालुवामा पानी पनि भन्छन् । पुनले पनि यो कुरा भन्दै हिड्नु भएको छ । नेपालगञ्जमा हुन थालेको ग्राण्ड साइन्स फेस्टिबलका आयोजकले पुनलाई पत्रकार समक्ष ल्याएका थिए । पुनले फेस्टिबलहरुले विद्यार्थीलाई जागरुक बनाउने बताउनुभयो ।
बच्चालाई मोबाइल दिनु लागु औषधी दिनु सरह हो भन्ने केहीको भनाईलाई सापट लिदै सोधिएको प्रश्नमा पुनको सहज उत्तर थियो, इन्टरनेटलाई बच्चाले कसरी प्रयोग गरेको छ भन्ने अहम् हुन्छ । इन्टरनेट महासागर हो, त्यहाँ राम्रो र नराम्रो दुवै हुन्छ । राम्रो कुरा सिकाउनु पर्छ । अब त स्कूलहरुमा नगई नेटबाटै पढ्न थालिसकिएको छ । पुनले उदाहरण दिनुभयो, बन्दुकले सुरक्षा पनि गर्छ । मान्छे पनि मार्छ । इन्टरनेट पनि त्यस्तै हो । कसरी प्रयोग गर्ने भन्नेमा भर पर्छ ।
पुनले विज्ञान तथा प्रविधिको विकास गर्नका लागि स्कूलमा शैक्षिक सामाग्री उत्पादन गर्नुपर्ने बताउनुभयो । विज्ञान शिक्षा सुध्रिएमा प्रतिभाशाली व्यक्ति जन्मिने पुनको भनाई छ ।