सामुहिक बेल विवाह र ब्रतवन्ध

नेपालगञ्ज – नेवार समुदायको संस्कार अनुसार वैदिक विधिपूर्वक कन्याहरुको लागि सामुूहिक बेल विवाह (ईही यज्ञ) र बालकहरुका लागि ब्रतवन्ध (क्यता पूजा) गरिएको छ ।
नेवाः पुचः बाँकेद्वारा आयोजित उक्त कार्यक्रम प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा गरेको हो ।
सामुहिक बेल विवाह (ईही यज्ञ) मा १४ जनाको सहभागिता रहेको थियो भने ब्रतवन्ध (क्यता पूजा) मा ८ जना बालक (बटुक) को सहभागिता रहेको नेवाः पुचः बाँकेका सचिव विवेक श्रेष्ठले जानकारी दिनु भयो ।
नेवाः पुचः बाँकेका पार्षद् पूर्ण लाल चुकेले रजश्वला हुनु पूर्व नेवार कन्याहरुको लागि सामुहिक बेल विवाह (ईही यज्ञ) विश्वमै नमूनाको रुपमा स्थापित संस्कार मध्ये एक मानिन्छ भन्दै बेल विवाह कन्याको विजोर उमेरमा गरिने नेवार समुदायको अत्यन्तै महत्वपूर्ण र अनिवार्य तथा पवित्र संस्कार हो भन्नुभयो ।


सहभागी कन्या तथा बटुकहरुलाई नेवाः पुचः बाँकेका पार्षद् चुके, अध्यक्ष नन्दकला श्रेष्ठ, कार्यक्रमका संयोजक तथा उपाध्यक्ष जीतेन्द्र कुमार जोशी, कोषाध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, चन्द्र श्रेष्ठ र नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य विष्णु श्रेष्ठले प्रमाण पत्र वितरण गर्नुभयो ।
दुई दशक अघिसम्म विधिपूर्वक उक्त जातिय संस्कार सम्पन्न गराउन नेपालगञ्ज बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्दै नेवाः पुचः बाँकेले हरेक दुई वर्षमा आयोजना गर्दै आएको सामुहिक बेल विवाह (ईही यज्ञ) र बालकहरुका लागि ब्रतवन्ध (क्येता पूजा) अर्को वर्षदेखि हरेक वर्ष आयोजना गरिने सचिव विवेक श्रेष्ठले जानकारी दिनुभयो ।


उक्त कार्यक्रमका लागि काठमाडौंबाट आउनु भएका नेवार समुदायका व्राम्हण सञ्जय शर्मा राजोपाध्याय र गजानन्द राजोपाध्यायले नेवारी संस्कृति र संस्कार अनुसार विधिपूर्वक पूजा सम्पन्न गराउनु भएको मूल संयोजक जीतेन्द्र कुमार जोशीले जानकारी दिनु भयो ।
कार्यक्रममा बालबालिकाका आफन्तजन नेवार समुदायको सहभागिता रहेको थियो । समापनका अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अव्दूल वाहिद मन्सुरी चुन्ना लगायतको सदस्यहरुको टोली कार्यक्रम स्थलमा आएर आएर बधाई तथा शुभकामना दिनु भएको थियो । अध्यक्ष चुन्नाले पुचः बाँकेका सम्पूर्ण टिमलाई नेवार बन्धुलाई एकै थलोमा भेला गराएर यस्तो महत्वपूर्ण र पवित्र संस्कारलाई विधिपूर्वक सम्पन्न गर्न जागरुकता देखाएर निरन्तरता दिएकोमा सराहना गर्नु भयो ।


error: यो सुविधा उपलब्ध छैन !