चाचाजीलाई सोधे, हकर आएनन् ?
काठमाडौं – २०५८ साल फाल्गुण–चैत्रको एउटा अपरान्ह । पत्रकारिता गर्ने भूत चढेको म भर्खरै पत्रकारितासम्वन्धी एउटा तालिममा सहभागी भई समाचार लेखनको अभ्यास गर्दै थिएँ । त्यस क्रममा साथी थिए सूर्यलाल यादव । जसले मलाई चारबाहिनी नजिकै रहेको नेपाल प्रेस इन्स्टिच्यूटको क्षेत्रीय कार्यालय पु¥याए ।
त्यहाँ एक सेतै फूलेका ‘वृद्ध’ एउटा कुनामा बसेर कुनै पत्रिका पढिरहेका थिए । सूर्यलालले मलाई उनीनजिक पु¥याए र चिनाए यी पन्नाचाचा हुन् । म असहज देखिएँ । मेरा हजुरबुवाको उमेरका यी व्यक्तिलाई कसरी चाचा भन्ने । सूर्यलालले नै सहज बनाइदिए चाचाजी सबैका चाचाजी हुन् । उनका नातीहरुले पनि उनलाई चाचाजी नै भन्छन् भनेर । त्यसको केही दिनपछि चाचाजीले पनि मलाई चिन्न थाल्नु भयो । त्यसले मलाई पछि सुशील दाई (कोइराला) लाई उहाँकै अघि दाजु भनेर सम्वोधन गर्न पनि सहजता दियो ।
चाचाजीसँग निकटता चाँहि तब बढ्यो जब हामी नेपालगञ्जको पत्रकारिताको तेस्रो पुस्ताका ‘केटाकेटी’ संवाददाताहरुसँग पूर्ण सहजताका साथ चाचाजी रिपोर्टिङमा हिड्नु हुन्थ्यो । उहाँलाई देखेपछि प्रेरणा÷हौसला यति बढ्थ्यो कि त्यसको सही अनुभूति नेपालगञ्जका पत्रकारले मात्र गर्न सक्छन् । उहाँ हाम्रा लागि त्यो हद्सम्मको प्रेरणादायी हुनुहुन्थ्यो । उहाँको जीवनलाई अझ नजिकबाट नियाल्ने अवसर मलाई कालपृष्ठ दैनिकमा जोडिएपछि भयो । कालपृष्ठको कार्यालय र त्रिभुवन चोक पूर्व लाइनमा रहेको चाचाजीको निवास÷किरण साप्ताहिकको सम्पर्क कार्यालय निकै नजिक छ । नजिकैको महेन्द्र पुस्तकालय र चाचाजीको पत्रिका डिजाइन गर्ने ‘मास्टरसाब’ को कार्यालयसँग कालपृष्ठकर्मीका रुपमा सम्पर्कले चाचाजीसँग निकै बाक्लो रुपमा भेटघाट हुन्थ्यो । चाचाजी सबै समाचार आफ्नो हातले नै लेखेर ‘मास्टरसाब’ को कार्यालय पु¥याउनु हुन्थ्यो । उहाँ आफैं कम्प्युटर त चलाउनु हुँदैनथ्यो तर कम्प्युटरमा टाइप गरिएका समाचार निकै मिहिन ढंगले पढ्नु हुन्थ्यो र उहाँका आँखाले ठम्याएका ह्रस्व दिर्घसहित स–साना कमजोरी पनि सुधार गर्न सहयोगीलाई आग्रह गर्नुहुन्थ्यो । एउटा हामीजस्ता फुच्चा पत्रकारहरुसँग निसंकोच रिपार्टिङमा हिंड्ने भूमिका । अर्को वयोवृद्ध उमेरमा पनि गज्जबको सम्पादकीय भूमिका । यतिसम्म पनि ठिकै थियो । उहाँको अर्को एउटा भूमिकाले मलाई उहाँबारे अध्ययन गर्ने जाँगर नै जगायो । त्यो के भने उहाँ त पत्रिकाको प्लेट मास्टरसाबकहाँ प्रिन्ट गरेर आफैं छापाखाना पुग्ने, पत्रिका छापिएर नभ्याउँदासम्म कुरिबस्ने अनि छापिएपछि आफैं हकरको भूमिकामा ग्राहकको घरसम्म पुग्ने । नपुग्दो केही छैन । एउटा राम्रै परिवारको सदस्य । नेपालगञ्जका मेयर भैसकेका वरिष्ठ अधिवक्ता विजय गुप्ताका बाबु । अरु सन्तान पनि राम्रो आय आम्दानी भएका । पत्रकारिताप्रतिको चाचाजीको गज्जबको लगावले म निकै प्रभावित भएँ ।
एकदिन चाचाजीलाई सोधें चाचाजी हकर आएनन् ? उहाँले भन्नुभयो,– ‘भनेको ठाउँमा भनेको समयमा पु¥याउँदैनन् । त्यसैले म सकेसम्म आफैं जान्छु ।’ एकदिन मैले चाचाजीबारे वृत्तचित्र बनाउने प्र्रस्ताव गरें । चाचाजी मलाई निकै माया गर्नुहुन्थ्यो त्यसैले मेरो प्रस्ताव मान्नु भयो । कागजी प्रक्रियाका लागि विजयसँग सल्लाह गर्नुस् भन्नुभयो । विजय दाईसँगको सल्लाहपछि मैले स्वीकृति पाएँ । सुटिङका क्रममा म गुप्त परिवारसँग निकै नजिक भएँ । उहाँका कैयौं स्मरण, कठोर पञ्चायतकाल, निरंकुश राजतन्त्र आदिकालीन पत्रकारिताका दिनहरु वृत्तचित्र चाचाजीमा सुरक्षित छ । त्यस क्रममा चाचाजीकी धर्मपत्नी र विजय दाईले मलाई चाचाजीको पत्रकारिताप्रतिको उच्च लगाव परिवारका लागि कतिपय अवस्थामा चाचाजीको हठका रुपमा चित्रित हुन पुगेको पनि सुनाउनुहुन्थ्यो । हठै सही चाचाजीले निरन्तर पत्रकारिता कर्ममा कसैसँग सम्झौता गर्नु भएन ।
मिसन पत्रकारिताको उहाँको उद्देश्य आजको व्यवसायिक पत्रकारिताको दौडमा कहिँपछि प¥यो होला तर कहिल्यै कहिँकतै निष्ठा, त्याग र प्रजातन्त्रप्रतिको लगावमा उहाँले कहिल्यै सम्झौता गर्नु भएन । संलग्न समूहका एक पात्रको असहयोगका कारण चाचाजीको वृत्तचित्र अपेक्षा गरेभन्दा केही पछि तयार भयो । त्यसमा मैले तयार पारेका प्लटमा कतिपय सम्झौता गर्न बाध्य भएँ । पछि चाचाजी, उहाँको परिवार र म स्वयंको अपेक्षा अनुसार नेपालगञ्जमा चाचाजीको प्रदर्शनी पनि गरियो । चाचाजी विरामी परेर अस्पताल हुनु भएको बेला केही समयअघि विजय दाईले मलाई चाचाजीले भेट्न खोज्नु भएको सुनाउनु भयो । मैले नेपालगञ्ज पुगेर भेटेपछि चाचाजीमा फरक उर्जा आएको पछि विजय दाईले मलाई सुनाउनु भएको थियो । यसपल्ट पनि एक साताअघितिर विजय दाईले मलाई चाचाजीले भेट्न खोज्नु भएको सुनाउनु भएको थियो तर कार्यव्यस्तताले नेपालगञ्ज जान सकिन । त्यसको मलाई सधैं अफसोच रहनेछ । अलबिदा चाचाजी ।