पानी र राहतको व्यवस्था गर्न नरैनापुरका अध्यक्षको दौडधुप

नरैनापुर – नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाह सिंचाई र राहतको व्यवस्था गर्न दौडधुप गरिरहेका छन् । पालिकामा खडेरी परेपछि थोरैमात्रै रोपिएको धानलाई बचाउन पालिका अध्यक्ष शाहले दौडधुप गरिरहेका हुन् ।

पालिकामा डिप बोरिङ र राहतका लागि कहिले मन्त्रीहरुसँग त कहिले स्थानीय प्रशासकसँग हारगुहार गरिरहेका छन् ।

पालिका अध्यक्ष शाहले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई पालिका गरेका निर्णयहरुबारे जानकारी गराएका छन् ।
नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकलाई राहत दिन प्रदेश र संघीय सरकारसंग माग गर्ने निर्णय गरेको प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भन्नुभयो, ‘गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पीडा सेलाउन नपाउँदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको छ ।’ उहाँले गाउँपालिकामा सिंचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझो नै रहेकाले पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताउनु भयो । प्रजिअ खत्रीलाई ज्ञापनपत्र बुझाउंदा प्रदेश सांसद कृष्णा केसीको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !