मोबाइल छैन ? हुँदैन टिबी जाँच

 

नेपालगञ्ज – नेपालगञ्ज नाकामा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको छ । सरकारले भारतबाट आएका सबै व्यक्तिको टिबी जाँच गर्न भनेपनि नाकामा रहेको हेल्थडेस्कमा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको हो ।

भारतमा मजदुरी गरेर फर्किएका नेपालीको नेपालगञ्ज नाकामा रहेको हेल्थडेस्कमा टिबी जाँच हुने गर्दछ । मोबाइल नहुने व्यक्तिलाई ‘रोग’ देखिएमा खबर गर्न नसकिने भएकाले उनीहरुको जाँच नै नहुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको खकार संकलन गरिन्छ । त्यसलाई टिबी अस्पतालमा पठाइन्छ । रोग देखिएमा उसलाई मोबाइल नम्बरमा फोन गरेर जानकारी दिइन्छ । उसलाई सम्बन्धित स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाबाट औषधी खान भनिन्छ । भारतबाट आएका व्यक्ति खकार दिएर घरतर्फ जान्छन् । खकार जाँच गर्न केही दिन लाग्छ । उसलाई यहाँ बसाउने कुरा हुँदैन । खकार रिपोर्ट आउदासम्म ऊ घरमा पुगिसकेको हुन्छ । मोबाइल नहुने व्यक्तिलाई रिपोर्टबारे खबर गर्न सकिदैन । त्यसैले मोबाइल नभएका व्यक्तिको खकार जाँच गरिदैन । शंकास्पद व्यक्तिलाई स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा गएर टिबी जाँच गर्न सल्लाह दिने गरिएको छ ।

भारतमा कुल्ली काम गरेर आएका व्यक्ति, धु्रमपान गर्ने, खोकिरहने, घरपरिवारमा कसैलाई टिबी भएकाहरुलाई विशेष प्राथमिकताका साथ जाँच गर्ने गरिन्छ । स्वास्थ्यकर्मीले शरीर हेरेर पनि कतिपयलाई अनुमान गरिरहेका हुन्छन् ।

नेपालगञ्ज नाकामा २०७८ साउन १ गतेदेखि टिबी जाँच भइरहेको छ । अहिलेसम्म एक हजार तीन सय जनाको जाँच भइसकेको छ । त्यसमा १३ जनालाई टिबी देखिएको छ । यो भनेको जाँच गरेकोमा एक प्रतिशत हुन आउँछ ।

सरकारले नाकामा कोरोना, मलेरिया, डेंगु, टिबी, कालाजारको जाँच गर्न हेल्थ डेस्क राखेको थियो । यो नाकामा अहिलेसम्म कोरोना, मलेरिया र टिबीको मात्रै जाँच भइरहेको छ । डेंगु, कालाजारको जाँच शुरु नै गरिएको छैन । हेल्थ डेस्कमा दरबन्दीका पाँच जना कर्मचारीलाई खटाइएको छ । अथायी करार १२ जना छन् । संघ संस्थाले पनि बेलाबेलामा सहयोग गरिरहेका छन् । ल्याब टेक्निसियन ज्ञवालीले किट पठाइदिएमा डेंगुको जाँच गर्न सकिने बताउनुभयो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्याका मानिस भारतको विभिन्न शहरमा मौसमी काम गर्न जाने गर्दछन् । उनीहरु घर फर्किदा रोग लिएर नआउन् भन्नका लागि नाकामा जाँच र उपचारको व्यवस्था मिलाइएको हो । यद्यपि, सरकारले घोषणा गरे अनुसार काम भइरहेको छैन ।

चाडबाड नजिकिदै गएकाले भारतबाट फर्किनेको चाप बढ्दो छ । उनीहरुलाई सरकारले घोषणा अनुसारका सबै रोगको जाँच गर्न जरुरी देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !