अब नेपालगञ्ज म्याराथनको कोर्ष अन्तराष्ट्रिय मापदण्डको हुने

नेपालगञ्ज – धारा नेपालगञ्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ ।

वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगञ्ज म्याराथनको नाप लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि (बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगञ्जमा स्वागत गर्दै सफलताको शुभकामना दिनुभयो । ‘नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगञ्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ’ मेयर बिष्टले भन्नुभयो, ‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’

म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगञ्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताउनुभयो । कोर्ष मापनको सुरुवाती चरणमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु प्नि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा लिएको छु’ मेयर बिष्टले भन्नुभयो, ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’

नेपालगञ्ज म्याराथन हरेक बर्ष मंसिर महिनाको पहिलो शनिबार आयोजना हुने गर्दछ । यस बर्ष मंसिर ३ गते तय भइ तयारी अघि बढेको थिए । आमनिर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिबार आयोजना गर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ । यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो’ म्याराथन संस्थापक टीएस ठकुरीले भन्नुभयो, ‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’

सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीन वटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।


error: यो सुविधा उपलब्ध छैन !