नेपालगञ्जदेखि जहाजमै काठमाडौं पु¥याइन्छ ब्राउनसुगर !

नेपालगञ्ज – कोहलपुरका रोहन शाह नेपालगञ्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यति एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए ।

जहाज उड्नु अघि नै प्रहरीको टोली विमानस्थलको यात्रु आराम कक्षमा पुग्यो । विशेष सुराकीको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको
थियो । प्रहरीलाई देखेपछि शाहको छटछटी शुरु भयो । प्रहरीले शाहको खानतलासी लियो । उनको साथमा कालो प्लाष्टिकको दुई वटा पोका फेला प¥यो । प्रहरीले शाहलाई नियन्त्रणमा लिएर प्लाष्टिक खोलेर हेर्दा ठूलो मात्रामा लागु औषधी ब्राउनसुगर बरामद भयो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरका अनुसार, शाहको साथबाट ६४ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
ठूलो मात्रामा ब्राउनसुगर बोकेर एयरपोर्टभित्र छिरिसकेका शाहलाई नियन्त्रणमा लिएको प्रहरीले उनको बारेमा गहन अनुसन्धान गरिरहेको जनाएको छ । शाहले प्रहरीलाई झुक्याउने प्रयास गरिरहेका छन् । उनले फरक–फरक कुरा गरिरहेका छन् ।

बाँके प्रहरीले विमानस्थलबाट लागु औषधीसहित कारोबारीलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन । चालु आर्थिक वर्षको यो पहिलो घटना भएपनि यसअघि एयरपोर्टबाटै ९ ग्राम २० मिलिग्रामसहित तीन जना, चार ग्राम ९ सय ६० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको थियो । पछिल्लो केही वर्षयता विमानस्थलबाट प्रहरीले १४ पटक लागु औषधी र कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

बाँके सीमावर्ती जिल्ला हो । जिल्लाको सदरमुकाम नेपालगञ्ज भारतीय बजार रुपैडिहासँग जोडिएको छ । भारतमा खुल्लमखुल्ला कारोबार हुने ब्राउनसुगर विभिन्न तरिकाले नेपालगञ्ज भित्रिने गर्दछ । ब्राउनसुगरको ‘च्यानलवाइज’ सप्लाई भएको पाइन्छ । नाका कटाउने, बजारमा होल्ड गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने फरक–फरक व्यक्ति हुने गर्दछन् । प्रायः क्यारिङवालाई प्रयोग गर्ने डिलर कारोबारीहरु कमै मात्रामा पक्राउ परेको पाइन्छ ।

नेपालगञ्जमा भारतीयले नै ब्राउनसुगर पु¥याइदिने गर्दछन् । आफै कारोबार गर्न आउनेहरु पनि कम छैनन् । जसको उदाहरण जिल्ला कारागार र प्रहरीको हिरासतमा रहेका भारतीय थुनुवालाई हेर्दा पुग्छ । नेपालगञ्ज कारागारमा सात सय बढी बन्दी हुँदा आधाजसो ब्राउनसुगरका छन् । ५० बढी भारतीय नागरिक रहेका छन् ।

नेपालगञ्जमा काठमाडौंबाटै लागु औषधी लिन पनि आउँछन् । यतैबाटै पु¥याइदिने बढी हुन्छन् । हेटौडाबाट गाडीमा आएर ब्राउनसुगर लिएर जादा केही महिना अघि एक जना पक्राउ परेका थिए । प्रहरीको पक्राउ तथ्यांक हेर्दा विमान होस् या गाडीबाट, नेपालगञ्जदेखि काठमाडौंमा ब्राउनसुगर पुगिरहेको छ ।

बाँके प्रहरीले साउनमा मात्रै २० जनालाई लागु औषधीसहित पक्राउ गरेको छ । यो तथ्यांकले पनि झण्डै एक दिनमा एक जना कारोबारी पक्राउ परेको देखाउँछ ।


error: यो सुविधा उपलब्ध छैन !