नरैनापुरमा खडेरी (फोटो फिचर)

नरैनापुर – बाँकेको नरैनापुरमा खडेरी परेको छ । पानी नपरेपछि किसानले धान रोप्न पाएका छैनन् । अलिअलि रोपेको धान पनि सुकेको छ ।
सबैजसो मानिसले खेती किसानीबाट नै जीवीकोपार्जन गर्ने गरेको नरैनापुरमा यसपाली पानी नपरेकाले धान रोपाई भएको छैन ।

गाउँपालिकाका कृषि शाखाका कर्मचारी सदन भण्डारीका अनुसार, नरैनापुरमा तीन हजार ७ सय ८ हेक्टर खेतीयोग्य जमिन छ । यो वर्षमा यसको १५ प्रतिशतमात्रै रोपाई भएको छ । पालिकामा २ सय ६० हेक्टरमा सिंचाई हुन्छ । रोपाई भएको १५ प्रतिशतमध्येमा आधाजसो धान तत्काल पानी नपाएमा मर्ने अवस्थामा पुगेको छ ।

नरैनापुर डुवान क्षेत्र पनि हो । यो वर्ष पानी नै नपरेपछि डुब्नु भन्दा सुख्खाले स्थानीयलाई सताएको छ । धान उत्पादन नभएकाले यो वर्ष खाद्यान्न संकट हुने स्थानीयको भनाई छ । वडा नं. ४ का सावितराम पासीले धान रोप्न नै नपाएकाले यो वर्ष खाना कै समस्या हुने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाहले सुख्खा परेकाले आफ्नो ठाउँका लागि केन्द्र, प्रदेश सरकारले विशेष प्याकेज दिनु पर्ने बताउनुभयो । पालिकाले रोपाई भएको १५ प्रतिशत धानलाई बचाउन बिग्रेको बोरिङ बनाउने, खानेपानीका ट्यांकीलाई तत्काल सञ्चालन गरेर खेतमा पानीको व्यवस्था गर्न लागेको छ ।

पालिका प्रमुख शाह, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, लेखा अधिकृत प्रकाश अधिकारी रोपाई भएको धान बचाउन बोरिङ र खानेपानीका ट्यांकी सञ्चालनमा लागि पर्नु भएको छ । गाउँपालिकामा दुई वटा बोरिङ र दश वटा खानेपानीका ट्यांकी छन् । दुवै बोरिङ र पाँच वटा खानेपानीका ट्यांकी तत्काल सञ्चालनमा आउन सक्छन् । यी सञ्चालनमा ल्याउँदा रोपाई भएका आधा बढी धानलाई सिंचाई गर्न सकिने पालिकाको आकडा छ ।

बाँकेमा ८५ प्रतिशत रोपाई भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !