उपमहानगरपालिका अगाडि तेर्सिए लोकल बस
नेपालगञ्ज – कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बस, म्याजिक (सानो गाडी) ले हड्ताल गरेका छन् । उनीहरुले माइक्रोबस र म्याजिक ल्याएर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि सडकमा तेस्र्याएका छन् ।
नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु त्यहीबाट छुट्ने र एकपटक सबै त्यहाँ पुग्नै पर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर चल्ने लोकल सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नु पर्ने र ५० रुपैया दिनु पर्ने नियम बनाइएको थियो । यही नियमको विरुद्धमा लोकल बस सञ्चालकले शुक्रबार विहानदेखि हड्ताल गरेका छन् ।
नेपालगञ्ज–कोहलपुर चल्ने माइक्रो बस र म्याजिक बसपार्क जान अपायक पर्ने र दैनिक ५० रुपैया तिर्नुपर्ने नियम उचित नभएको सञ्चालकहरुको भनाई छ । बसपार्क नजाने र ५० रुपैया नतिर्ने भन्दै बस सञ्चालकले हड्ताल गरेका हुन् ।
बस सञ्चालकले हड्ताल गरेकाले नेपालगञ्ज–कोहलपुर रुटमा लोकल यात्रुवाहक सवारी साधन चलेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिका, बस व्यवसायीका बीचमा छलफलको तयारी गरिएको छ ।