सर्वसम्मत निर्णयसहित नगर सभा समापन
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ११ औं नगरसभा बिहीबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नवीकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ ।
नगरसभाले नगर उपप्रमुख कमरुद्धिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरेको छ ।
नगरसभामा उपमहानगरपालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित बिदाई गरिएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको बिदाई गर्नुभयो ।
यसैगरी सशितकुमार कलवार, रामचरण यादव, रामकृष्ण चौधरी, गगनसिंह साउद, टेकवहादुर केसी, कृष्णवहादुर केसी, नरवहादुर कठायत, उषा राणा, शिवकुमार वृजपति, स्व. रामसुरेश यादव, कृष्णदेवी वाल्मिकी, भद्रवहादुर शाही, शोभा बाल्मिकी र फकिरे भंगीलाई पनि सम्मान गरिएको प्रशासन महाशाखा प्रमुख राजन केसीले जानकारी दिनुभयो ।