५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइदै

नेपालगञ्ज – सरकारले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले असार ९ गतेदेखि यो उमेर समूहका बालबालिकालाई खोप लगाउने जानकारी दिनुभयो । बाँकेमा यो उमेर समूहका ७६ हजार २ सय ३९ जना रहेका छन् ।

५ देखि ११ वर्षका बालबालिकालाई विद्यालयमै गएर खोप लगाउने रणनीति बनाइएको छ । ‘हामी विद्यालयमै गएर खोप लगाउँछौं, फोकलपर्सन श्रेष्ठले भन्नुभयो, विद्यालय लक्षित यो कार्यक्रममा महिला स्वयंसेविकालाई अनिवार्य गरिएको छ ।’

जिल्लामा १२ देखि १७ वर्ष उमेरका ११ प्रतिशतले खोप लगाइसकेका छन् । समग्रमा बाँकेमा ८४ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । अझै १६ प्रतिशत मानिसले पहिलो मात्रा लगाइसकेका छैनन् ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले ७१.६ प्रतिशतले दोस्रो मात्रा र १८.२२ प्रतिशतले बुष्टर डोज लगाएको जानकारी दिनुभयो ।

बाँकेको जनसंख्या ५ लाख ६८ हजार रहेको छ । जिल्लामा खोप लगाउने कार्य निरन्तर चलिरहेको छ । भारतबाट फर्केका नेपालीलाई नाकामै खोप लगाउने गरिएको छ । २०७७ माघदेखि बाँकेमा खोप लगाउन शुरु गरिएको हो । कोरोनाको पहिलो र दोस्रो चरणमा बाँके हटस्पट बनेको थियो ।

भारतबाट नेपाल आएका ८५ हजारलाई नाकामा कोरोना जाँच गरिएको थियो । त्यसमा एक हजार तीन सय २ जनालाई कोरोना देखियो । त्यसमा २० जनामात्रै लक्षण देखिएका थिए । नाकामा अहिले पनि कोरोना जाँच र खोप लगाउने काम चलिरहेको छ । जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जेठ महिनामा ८ सय ५० जनाको जाँच गर्दा नौ जना र असारमा तीन सय जनाको जाँच गर्दा आठ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिलाई मलेरिया र टीबीको पनि जाँच गर्ने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !