डुबेकालाई बचाउन राप्ती नदीमा कृत्रिम घटना अभ्यास

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा बाढी पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको छ ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन, रेडक्रसलगायतको संयुक्त आयोजनामा राप्ती नदीको सिधनियाघाटमा कृत्रिम घटना अभ्यास गरिएको हो ।

बाढीमा बगेका मानिसको उद्धार तथा खोजतलासको अभ्यास गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागितामा कृत्रिम घटना अभ्यास गरिएको थियो । कृत्रिम घटना अभ्यास कार्यक्रममा लुम्बिनीका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा, प्रदेश सांसद कृष्णा केसी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपाली सेनाको श्री नं. ४ बाहिनीका बाहिनीपति उत्तम विष्टलगायतको उपस्थिति रहेको थियो ।

मन्त्री शर्माले यस्ता घटना अभ्यासले काममा निपुणता आउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खत्रीले बाढीमा परेका व्यक्तिको उद्धार र धनजनको क्षति रोक्नका लागि तिन वटै सुरक्षा निकायले राम्रो अभ्यास गरेको बताउनुभयो ।

बाँकेको सिधनियाघाटमा वर्षेनी यसप्रकारको घटना अभ्यास गर्ने गरिन्छ । बाँकेमा वर्षेनी नै डुवान, कटान र पटान हुने गर्दछ । राप्ती नदीमा भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँधले पानीको प्राकृतिक बहाव रोकिदिदा नदीको तटीय क्षेत्रका बासिन्दा डुवानमा पर्ने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !