प्रभातले मनायो वार्षिकोत्सव
भीष्म लोध (नेपालगञ्ज ) बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ जीगाउँमा रहेको प्रभात माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालयले सोमबार एक कार्यक्रममार्फत आफ्नो स्थापनाको ५१ वर्ष र अभिभावक दिवस मनाएको हो ।
बि.स.२००७ सालमा स्थापना भई खरको झुपडीबाट अध्यापन शुरु गरेको विद्यालय बिभिन्न व्यक्तिहरुको सहयोगमा नमूनामा परिणत हुन सफल भएको छ । बैजनाथ गाउँपालिकाभित्र नमूना विद्यालयका रुपमा रहेको छ ।
बैजनाथ गाउँपालिकाकाका अध्यक्ष मानबहादुर रुचालले विद्यालयमा हुने हरेक क्रियाकलापबाट सन्तुष्ट रहेको बताउनुभयो । उहाँले विद्यालयको बिकास र गुणस्तरका निम्ति गाउँपालिका सदैव सहयोगी बन्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष रुचालले विद्यालयलाई नमूना बनाउनका लागि विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकहरुलाई धन्यवाद दिँदै यसलाई क्याम्पसका रुपमा परिणत गर्न आफ्नो तयारी रहेको उल्लेख गर्नुभयो ।
प्रभातमा निजी विद्यालयमा रहने हरेक सुबिधा उपलब्ध छ । विद्यालयले अभिभावक तथा चन्दादाताको सहयोगमा बस सेवा सञ्चालन गरेको छ । विद्यालय प्रदेश नं. ५ को सामाजिक बिकास मन्त्रालयबाट उत्कृष्ठ भएर पुरस्कृत समेत भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनारले नमूना विद्यालयको गुरुयोजना निर्माण र बिकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले निजी विद्यालयसरह नै विद्यालयमा अंग्रेजी माध्यमको कक्षा शुरु गर्ने र पाँच सय क्षमताको आधुनिक सभाहल निर्माण गर्ने बताउनुभयो ।
विद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम अधिकारीका अनुसार शुद्ध खानेपानी, मार्बल, हात धुने व्यवस्थासहितको सुबिधासम्म शौचालय रहेको बिद्यालयमा करिब हजार बढि बिद्यार्थी अध्ययनरत छन् ।
दिवसका अवसरमा विद्यालयको बिकासमा सहयोग गर्ने चन्दा दाता, सहयोगी दाता, उत्कृष्ठ शिक्षक कर्मचारी, बिद्यार्थी र अभिभावकलाई सम्मानपत्रसहित सम्मानित गरेको छ । विद्यालयको समग्र वातावरण सुधारका लागि ६० लाख रुपैया बराबरको कार्यहरु गरेको र भइरहेकाले कार्यक्रम सञ्चालन गर्ने गेरुवा ग्रामीण जागरण संघ बर्दिया र सहयोगी प्लान इन्टरनेशन नेपाललाई समेत प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।
सो अवसरमा गाउँपालिका अध्यक्ष रुचालले बिद्यालयमा गेरुवाले निर्माण गरेको वाटर फिल्टर प्रविधिको उद्घाटन गर्नुभयो ।