आन्दोलन गर्ने बन्दीको तत्काल सरुवा
नेपालगञ्ज– नेपालगञ्ज कारागारमा शुक्रबार दिनभरी दुई जना बन्दीले आन्दोलन गरे । विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म निमित्त जेलरलाई समेत भित्र जान दिएनन् । बन्दी पेमा चन्द र भगवती रानाले चौकीदार परिवर्तनको माग राखेर आन्दोलन गरेका थिए ।
चौकीदारले खानामा भेदभाव गरेको, अपशब्द बोलेको उनीहरुको आरोप थियो । आन्दोलित बन्दीद्वयले हातमा लठ्ठी लिएर जेलरलाई समेत भित्र पस्न नदिएपछि दिनभरी कारागारमा तनाव भएको थियो ।
निमित्त जेलर दिपेन्द्र पौडेलले जति सम्झाएपनि उनीहरुले गेटभित्र बस्न नदिएपछि कुरा ‘माथि’ पुगेको थियो । ‘तत्काल चौकीदार ललिता रेग्मीको सरुवा हुनुपर्छ भनेर दिनभरी छलफलमा समेत आएनन्, अन्तिममा माथिको आदेशमा दुवै जनाको सरुवा गरियो ।’
बन्दी पेमालाई पाल्पा र भगवतीलाई नवलपरासी कारागार पठाइएको छ । आन्दोलितलाई राती राख्दा वातावरण बिग्रिन सक्ने निष्कर्ष निकालेर प्रशासनले दुवैलाई सरुवा गरिदिएको छ । दुवैलाई शुक्रबार नै पाल्पा र नवलपरासीतिर लगिएको छ ।
नेपालगञ्ज कारागारमा ५० जना महिला बन्दी थिए । त्यसमा एकजना नबालक छन् । दुई जनाको सरुवा भएपछि अब ४८ जना बचेका छन् । आन्दोलित बन्दीलाई सरुवा गरिएसँगै चौकीदार ललिताको विषयमा जेलर आएपछि अनुसन्धान गर्ने जेल प्रशासनले जनाएको छ । कात्तिक १४ गते पुरुष बन्दीले चर्को आन्दोलन गरेपछि चौकीदार परिवर्तनमात्रै होइन, जेलरकै सरुवा भएको थियो । पुरुष बन्दीकै सिको टिपेर दुई महिला बन्दीले आन्दोलन थालेका थिए । यसपाली भने महिला बन्दीलाई नै सरुवा गरिएको छ ।