जित्नेको बाजासहित अविरजात्रा, हार्ने हात जोड्दै घरदैलोमा
नेपालगञ्ज – विजेताहरु बाजासहित बजारमा निस्केका छन् । मतदातालाई धन्यवाद दिएका छन् । कतिपय मतदाताले सडकमै निस्केर अबिर माला लगाइदिएका छन् । जीतको माहौलमा खुशी छन् । एकथरी के भनौ, धेरै व्यापारी खुशी देखिन्छन् । धेरै भएर नै चुनाव जितेको हुनुपर्छ ।
अर्कोथरी व्यापारीको समूह पनि मतदातालाई धन्यवाद दिन निस्केको छ । उनीहरु पनि हात जोड्दै हिडेका छन्, पहिला भोट माग्दाको जसरी । पसल–पसलमा पुगेर मतदातालाई सहयोगका लागि धन्यवाद भनिरहेका छन् ।
नेपालगञ्ज बजारमा सोमबार देखिएका यी दुई फरक दृश्य हुन् । दुवैको ‘कनेक्सन’ राती सकिएको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनसँग जोडिएको छ ।
अध्यक्षसहित बहुमत जितेको अब्दुल वाहिद मन्सुरी (चुन्ना) को समूहले अबिर, माला र बाजासहित बजार परिक्रमा गरेको हो । विजयी जुलुश न्यूरोडस्थित सचिवालयबाट निस्केका थिए । समावेशी प्यानलका संरक्षक दामोदर आचार्यसहित विजेताहरु समर्थकसहित अविर, मालासहित निस्केका थिए । विजेताको उत्सवमा मत दिएकाहरुले खुशी मनाए । लड्डु बाँडेर मुख मिठा गराइयो । अध्यक्षमा विजेता चुन्नाले मतदातालाई विश्वास गरेर मत दिएकोमा धन्यवाद दिनुभयो ।
सदरलाइनमा प्रतिस्पर्धामा पछाडी परेका ललितकुमार रौनियार हात जोड्दै गरेको देखिनुभयो । रौनियारको साथमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएर जितेका र केही पराजित भएकाहरु थिए । ‘मैले राम्रो मत ल्याए । मतदातालाई धन्यवाद दिन हिडेका छौं, अध्यक्षमा पराजित रौनियारले भन्नुभयो ।
जितेका या हारेकाले मतदातालाई भेटेर धन्यवाद भन्नु राजनीतिक संस्कारको रुपमा लिइन्छ । चुनाव एकपटकको लागि मात्रै हुँदैन भन्ने पनि गरिन्छ । चुनावी प्रतिस्पर्धामा आएपछि हारजीत स्वभाविक नै मानिन्छ । जित्नेले समेट्ने र हार्नेले सहयोग गरेर अघि बढ्नु पर्छ । यसप्रकारको संस्कारले नेपालगञ्जको व्यवसायिकदेखि समग्र विकासमा सघाउ पुर्याउने विश्वास गरिन्छ ।