प्रहरीको खसी ‘अप्रेसन’

नेपालगञ्ज – कोहलपुर प्रहरीले खसी ओसारपसारमा कागजपत्र हेर्न थालेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर सडकखण्डमा जाँच कडाई गरिदा दैनिकजसो नै खसी समातिएका छन् । कागजपत्र नभएका र भए पनि नक्कली बोकिएका व्यापारीको खसी प्रहरीले नियन्त्रणमा लिदै भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरील सोमबार २९ वटा खसी समातेको छ । सम्झनाचोक र चप्परगौडीबाट ती खसी समातिएका हुन् । खसी बसमा थियो । एक दिनअघि प्रहरीले सम्झनाचोकबाट ८३ वटा खसी नियन्त्रणमा लिएको थियो । केही दिनअघि राती अगैयामा लोड गर्दै गरेको २ सय ९ र कुसुमबाट ४८ वटा खसी समातिएको थियो ।
कोहलपुर प्रहरीले खसी ओसार पसार गर्दा कागजपत्र अनिवार्य बोक्न व्यापारीलाई आग्रह गरेको छ । भारतबाट अवैध रुपमा खसी भित्र्याएर नक्कली कागजपत्र बनाउने गरेको आशंकाले ओसारपसार गर्दा कागजपत्र अनिवार्य बोक्न भनिएको छ ।
सरकारले भारतबाट क्वारेन्टाइन नगरी खसी भित्रिन नदिने नीति बनाएको छ । भारतबाट क्वारेन्टाइन गरेर ल्याउन झन्झट हुने भएपछि व्यापारीले चोरी बाटो समात्ने गरेको स्रोतहरु बताउँछन् । आन्तरिक ओसारपसारमा पनि स्वास्थ्य परीक्षणलगायतका कागजपत्र अनिवार्य मानिन्छ ।
प्रहरीले धमाधम समात्दै गएको खसीलाई भन्सार कार्यालयले लिलामी गर्ने गरेको छ । खसी लिलामी फटाफट हुने गरेको छ । गाईगोरुजस्तो पटक पटक मूल्य घटाउनु पर्ने अवस्था रहेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !