चुनावमा देखिएका रोचक पक्ष
नेपालगञ्ज – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भएको उम्मेदवारी दर्तामा बाँकेमा केही रोचक पक्ष देखिएका छन् ।
गएराती अबेरसम्म भएको उम्मेदवारी दर्तामा कतै दाजुभाई कै एउटै पदमा उम्मेदवारी, कतै पाएको टिकट फिर्ता, कतै टिकट नपाएर बागी उम्मेदवार बनेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा टिकटको विषयलाई लिएर कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले टिकट नपाएपछि बाक्लो उपस्थिति रहेको थारु समुदायले रोष पोखेका छन् । राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष तप्त पौडेल र उपाध्यक्षमा संगीता थारुलाई टिकट दिएको थियो । संगीताले टिकट पाएर पनि फिर्ता गरेकी छन् । टिकटका लागि मारामार चलेका बेला संगीताले जित्ने आधार नभएको भन्दै टिकट फिर्ता गरेपछि राप्तीसोनारीमा कांग्रेसले मनिषा थारुलाई उपाध्यक्षको उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको छ । मनिषाको विरुद्धमा अर्की महिलाले बागी उम्मेदवारी दर्ता गरेकी छन् ।
राप्तीसोनारीमा पाएको टिकट फिर्ता गर्दा त्यहीसँग जोडिएको कोहलपुर नगरपालिकामा टिकट नपाएर पार्टी कार्यालयमा तालाबन्दीसँगै बागी उम्मेदवारी परेको छ । कांग्रेसले पूर्णप्रसाद आचार्यलाई टिकट दिएपछि लामो समयदेखि पार्टी त्याग तपस्या गरेका बलराम शर्माले बागी उम्मेदवार दिएका हुन् । शर्मालाई कोहलपुरका चर्चित नेताहरुको साथ रहेको छ ।
बाँकेमा गठबन्धनको विश्वासनियतामा प्रश्न खडा भएको छ । गठबन्धनमा कुनै भाग नपाएपछि माओवादी केन्द्रले स्वतन्त्र रुपमा मेयर र उपमेयर उठाएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा माओवादीले टंक धामीलाई मेयर र तारा रोकायलाई उपमेयर उठाएको हो । यहाँ गठबन्धनको तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई भाग गरेको छ ।
कोहलपुरमा माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृतका बीचमा गठबन्धन भएको छ । माओवादीका नरेन्द्र न्यौपानेलाई मेयर र नेकपा एसका नारायणी वलीलाई उपमेयर बनाइएको छ । खजुरामा माओवादी र कांग्रेसका बीचमा तालमेल भएको छ । माओवादीका डम्बर विकलाई अध्यक्ष र मन्जु मल्ललाई उपाध्यक्ष बनाइएको छ ।
अरु पालिकामा एकल प्रतिस्पर्धा रहेको छ । गठबन्धन भएका पालिकाामा पनि वडामा एकल प्रतिस्पर्धा रहेको छ ।
नेपालगञ्ज वडा नं. १ मा दाजुभाईले एमाले र कांग्रेसबाट वडाध्यक्षको टिकट पाएका छन् । एमालेबाट प्रमोद रिजालले टिकट पाउदा कांग्रेसले विनोद रिजाललाई उम्मेदवार बनाएको छ । विनोद दाई हुन् । प्रमोद निवर्तमान वडाध्यक्ष हुन् ।
टिकट नपाएपछि रातारात पार्टी परिवर्तन गरेर उम्मेदवार भएका धेरै छन् । नेपालगञ्जको वडा नं. १२ का निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले टिकट नपाएपछि राप्रपामा जाने तयारी गरे । त्यहाँ टिकट नपाएपछि जसपामा गएर उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा एक हुल महिला र पुरुष लठ्ठी बोकेर भित्रिए । सबै जना चकित भए । हुल बाँधेर लठ्ठी बोकेर को आयो भनेर सबैले हेर्न थाले । पछि प्रहरीले गोडा फाट र सतर्क गराएपछि थाहा उनीहरु त म्यादी प्रहरी पो रहेछन् । बाँकेमा पोशाक बिनाका म्यादी प्रहरी निर्वाचनमा खटिएका छन् । बाँकेमा एक हजार ६ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको छ । त्यसका लागि ५ हजार ८ सयले निवेदन दिएका थिए । सरकारले अहिलेसम्म म्यादी प्रहरीलाई पोशाक दिइसकेको छैन । बाँकेमा यसपाली म्यादी प्रहरी काम सकेर आफ्नै घरमा जाने गरेका छन् । म्यादी प्रहरीले घरबाट नै जाने र आउने गरेका छन् ।