गर्मी छल्न स्वीमिङ
नेपालगञ्ज – नेपालगञ्जलाई गर्मी बढी हुने शहर मानिन्छ । अधिक गर्मी र लामखुट्टे नेपालगञ्जको अर्को परिचय भन्दा पनि हुन्छ ।
यो गर्मीको शहरमा शितलताको माध्यम बनेको छ, पौडी पोखरी । नेपालगञ्ज रंगशालामा बनाइएको पौडी पोखरीले केहीबेरकालागि सही शितलता प्रदान गरेको छ । सस्तोमा मनचाहे पौडी खेल्न पाइन्छ, रंगशालामा ।
हुन त पौडी पोखरी नेपालगञ्जका सबै होटलहरुमा छन् । होटलमा पौडी पोखरीमा शुल्क महंगो छ । नेपालगञ्ज रंगशालामा रहेको पौडी पोखरीमा दुई सय रुपैया तिरेर मज्जाले दुई तीन घण्टा पौडी खेल्न पाइन्छ ।
नेपालगञ्जमा अहिलेको तापक्रम ३६–३७ डिग्री छ । जल तथा मौसम विज्ञान विभाग, राँझाका अनुसार, आइतबारको तापक्रम ३६.४ डिग्री रहेको छ । नेपालगञ्जमा ४२-४३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ ।
यो गर्मीमा दुई सय रुपैया तिरेर तीन चार घण्टा पौडीको मजा लिने बढिरहेका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्दले शुक्रबार ८० जना पौडी खेल्न आएको जानकारी दिनुभयो । ‘हिजो धेरै थिए । आज अलि कम छ, कार्यालय प्रमुख चन्दले भन्नुभयो, ‘गर्मी बढिरहेकाले पौडी खेल्न आउनेहरु बढ्दै छन् ।’
क्षेत्रीय खेलकुद विकास समितिलाई केन्द्रले पौडीबाट उठ्ने पैसाले त्यसको मर्मतदेखि बत्तीको पैसा तिर्न भनेको छ । यो भनेको मासिक डेढ लाख रुपैयासम्म पर्छ । यति पैसा मासिक कमाउन दिनमा २ सय ५० जना पौडी खेल्न आउनु पर्छ । नेपालगञ्ज रंगशालामा अहिले यत्तिका मान्छे पौडी खेल्न आइरहेका छैनन् ।
पौडी खेल्ने र सेल्फी खिच्ने एक अर्काको परिपूरकजस्तै भएको छ । नेपालगञ्ज रंगशालामा पौडी खेल्ने र फोटो खिचिरहेको देखिन्छ ।