मकैमा फौजी किराको आक्रमण
नेपालगञ्ज – बाँकेका किसानले लगाएको मकैमा फौजी किरा देखिएको छ ।
जिल्लाकै मकैको पकेट क्षेत्र मानिने हिरमिनियामा लगाइएको मकैमा फौजी किरा देखिएको हो । भर्खरै गोलमेल सकिएको मकैमा फौजी किरा देखिएपछि किसान चिन्तित भएका छन् ।
किसान ज्ञानलाल यादवले फौजी किरासले कलिलो मकैको डाठ खाइदिएको बताउनुभयो । एक विगाहमा मकै लगाएका यादवले फौजी किरा मार्ने औषधी छर्किएका छन् ।
फौजी किरा लागेको मकै सुक्दै गएका छन् । पानीको व्यवस्था गरिएकाले हिरमिनियामा वर्षेनी मकै उत्पादन गर्ने गरिन्छ ।
हिरमिनियामा मकैका साथै तरकारी खेती पनि हुन्छ । फौजी किराले तरकारीमा पनि असर पु¥याएको छ ।
तीन वर्षअघि अमेरिकाबाट अफ्रिका भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो । फौजी किरा अहिले यतै बसेको छ । फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो । ‘फौजी किरा गर्मीमा बस्छ । यहाँको वातावरण उसका लागि अनुकूल छ, प्रमुख ढकालले भन्नुभयो, बेलैमा औषधी हालेमा फौजी किराको असर हुँदैन ।’
फौजी किराले रातीमा आक्रमण गर्छ । दिउँसो लुकेर बसेको हुन्छ । बाँकेमा ३५ सय ५० हेक्टरमा मकै खेती गरिन्छ । एक हेक्टरमा ९० क्वीन्टल फल्ने गरेको छ ।
मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि हिरमिनियाका किसान यसपाली राम्रो उत्पादन नहुने चिन्तामा छन् ।