स्वास्थ्य सेवामा जेसीको अवधारणा कार्यान्वय गरिने

डुडुवा – डुडुवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्वास्थ्य क्षेत्रमा लैङिक समानता र सामाजिक समाबेशीकरणका बारेमा अभिमुखीकरण गरिएको छ । युएसएआईडिद्वारा सञ्चालित स्वास्थ्यका लागि सक्षम प्रणालीको सहकार्यमा डुडुवा गाउँपालिकाद्धारा शनिबार आयोजित अभिमुखीकरणमा स्वास्थ्य सेवा अन्तर्गत प्रवाह हुने सेवाको गुणस्तरीयता तथा लैङिक समानता र सामाजिक समाबेशीकरणको अवस्थालाई कार्यान्वयन लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका नीति तथा कार्यक्रम र योजना निर्माण गर्दा लैंगिकमैत्री बनाउने, सामाजिक समाबेशीकरणलाई सुनिश्चिता गर्ने, स्वास्थ्य कार्यक्रमलाई जातीय क्षेत्रीय, भाषिक, तथा सांस्कृतिक रुपमा भेदभावरहित बनाउने प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य रिता परियार, सुष्मा यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणालीका वरिष्ठ प्राबिधिक अधिकृत रामहरि अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजना कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशका बाँके लगायत ६ जिल्ला गरि कुल १६ जिल्लाका १ सय ३८ स्थानीय तहको स्वास्थ्य कार्यक्रम तथा ६ सय ५९ स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवालाई गुणस्तरीय बनाई मातृ तथा नबजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने गरि कार्यक्रम सञ्चालन गरिएको छ ।

यस कार्यक्रमले स्वास्थ्य प्रणाली सुदृढिकरण, स्वास्थ्य सूचना प्रणाली, मातृ तथा नबजात शिशु र परिवार नियोजन र स्वास्थ्य संकट गरि चार वटा क्षेत्रमा काम गर्ने गरेको जनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !