म्यादी प्रहरी : १६ सयका लागि ५८ सयको निवेदन
नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरीका लागि ठूलो संख्याले फाराम भरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले म्यादी प्रहरीका लागि ५ हजार ८ सय २ जनाले फाराम भरेको जानकारी दिनुभयो । बाँकेमा एक हजार ६ सय ८६ जनाको कोटा निर्धारण गरिएको छ ।
म्यादी प्रहरी हुन गृहिनीदेखि ब्याचलरसम्म आएका छन् । जिल्ला प्रहरी कार्यालयमा तँछाडमछाड गरेर उनीहरुले फाराम भरेका छन् । ठूलो भीड भएपछि प्रहरीले टोकन प्रणालीबाट फाराम संकलन गरेको थियो ।
चैत्र १५ गतेदेखि म्यादीको छनौट शुरु हुने बाँके प्रहरीले बताएको छ । ‘१३ गते सम्पर्कमा आउनु हुन्छ । १५ गतेदेखि छनौट प्रक्रिया शुरु हुन्छ, जिप्रका बाँकेका प्रशासन शाखाका प्रमुख ईश्वरदेव गिरीले भन्नुभयो, म्यादी हुन आएका गृहिणीदेखि केही ब्याचलर पनि छन् ।’
बेरोजगारीको समस्याले गर्दा ठूलो संख्या करिव दुई महिनाको जागीर खान तँछाडमछाड गरेका छन् । कतिपय प्रहरीमा जागीर खान सकिएन, केही दिनका लागि म्यादी भएपनि जागीर खाम भनेर आएका छन् ।