हरियाणा र त्रिभुवन आर्मी समूह विजेता बन्दै सेमीफाइनलमा
नेपालगञ्ज – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो समूहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् ।
नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । उनलाई नेपालगञ्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य, सुपरभिजन केवल टिभीका सञ्चालक विनोद अग्रहरी र ह्याण्डबलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस्कृत गरे । हरियाणा पुल ए विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा हरियाणाले न्यू डायमन्ड एकेडेमीसँग खेल्नेछ ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । उनलाई होटल सेन्ट्रल प्लाजाका मार्केटिङ म्यानेजर रमेश पाठक, भायोनेटका म्यानेजर भानु रेग्मी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य रीता कोइराला र नेपालगञ्ज उपमहानगरपालिका सदस्य तरुण बज्राचार्यले पुरस्कृत गरे । आर्मी पनि पुल बीतर्फ विजेताको हैसियतमा पुल ए को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।
आइतबार पहिलो सेमीफाइनल हरियाणा र न्यू डायमन्ड तथा दोस्रो सेमीफाइनल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।