खतिवडाले पाए उत्कृष्ट कर्मचारीको पुरस्कार

नेपालगञ्ज – भूमिगत जलस्रोत विकास कार्यालय, नेपालगञ्जका प्रमुख मनोज खतिवडा फाल्गुन महिनाको उत्कृष्ट कर्मचारी घोषित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले साउनदेखि कै कामका आधारमा खतिवडालाई उत्कृष्ट कर्मचारी घोषणा गरेर पुरस्कृत गरिएको जानकारी दिनुभयो । उत्कृष्ट कर्मचारी घोषित भएसँगै खतिवडाले पाँच हजार रुपैया नगद र सम्मानपत्र पाएका छन् ।
आइतबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी खत्रीले खतिवडालाई पुरस्कृत गर्नुभयो ।
उत्कृष्ट कर्मचारी छनौट गर्न एउटा समिति बनाइएको छ । त्यसले कार्य सम्पादन मूल्यांकन गरेर नाम सिफारिस गर्दछ । भूमिगत जलस्रोतको वित्तिय प्रगति ९७ प्रतिशत रहेकाले कार्यालय प्रमुख खतिवडा पुरस्कृत भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।
बाँकेमा एक सय ११ वटा कार्यालय छन् । त्यसमा २५ बढी विकास समितिका कार्यालय छन् । अधिकांश कार्यालयले विकास रकम खर्च गर्न सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी खत्रीले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न र उसको आत्मसम्मान बढाउन सम्मान गर्ने अभियान चलाएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !