खजुरामा पाठेघरको मुखको क्यान्सरको अप्रेसन शुरु
नेपालगञ्ज – बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको अप्रेसन शुरु गरिएको छ ।
तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभरबाटै विरामी आउन शुरु गरेका छन् ।
भरतपुर क्यान्सर अस्पताल, चितवन र बीर अस्पताल, काठमाडौंमा ब्राकीथेरापी मेसिन बिग्रिएपछि खजुरामा विरामीको चाप बढेको डाक्टरहरु बताउँछन् । देशभरमै यी तीन वटा सरकारी अस्पतालमा मात्रै ब्राकीथेरापी मेसिन छन् । बीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका विरामी खजुरा आउन थालेका छन् । निजी क्षेत्रमा काठमाडौंको नेपाल क्यान्सर अस्पतालले यो सेवा दिइरहेको छ ।
बर्दिया राजापुरका कमलबहादुर चौधरीले श्रीमतीको पाठेघरको पहिलो र दोस्रो अप्रेसन भरतपुर क्यान्सर अस्पतालमा गराएका थिए । तेस्रो अप्रेसन खजुरा क्यान्सर अस्पतालमा गराइरहेका छन् । ‘यही सेवा लिन चितवन र काठमाडौं जानु पथ्र्यो । खजुरामै सेवा पाएपछि समय, पैसा बचेको छ, चौधरीले भन्नुभयो, हप्ता÷हप्ता दिनमा तीन पटक अप्रेसन गर्नुपर्छ । टाढा जादा बसाई र खानपिनमै धेरै पैसा खर्च हुन्छ ।’
ब्राकीथेरापी मेसिन प्रयोग गरेर पाठेघरको अप्रेसन तीन पटक गरिन्छ । यो सात दिनको फरकमा हुन्छ । तीन पटक अप्रेसन गर्दा खजुरामा ४५ हजार रुपैया खर्च लाग्छ । निजी अस्पतालमा यही सेवा लिदा एक लाख खर्च हुने जानकारहरु बताउँछन् ।
१५ महिना भरतपुर क्यान्सर अस्पतालमा काम गरेका खजुराका मेडिकल फिजिसिष्ट डा. तीर्थराज अधिकारीले खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेपछि चितवन र काठमाडौंबाट समेत विरामी आउन थालेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्डबाट रेडियसन अनकोलोजी फिजिसिष्टको मान्यता पाएका डा. अधिकारी र रेडियसन अनकोलिष्ट डा. मुकेश यादवले ब्राकीथेरापी सेवा दिइरहेका छन् । डा. अधिकारीले पश्चिम क्षेत्रका विरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताउनुभयो । खजुरामा चार जनाले सेवा लिएका छन् ।
अस्पतालका निर्देशक कृष्ण आचार्यले खजुरामा नयाँ प्रविधिको प्रयोग बढिरहेको बताउनुभयो । ‘डिपार्टमेन्टहरु थपिएका छन् । विरामीको चाप बढ्दो छ, निर्देशक डा. आचार्यले भन्नुभयो, अहिले यहाँका विरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् ।’
खजुरा क्यान्सर अस्पतालको व्यवस्थापन समितिले हालै खजुरा क्षेत्रका विरामीलाई ओपीडीको शुल्क निशुल्क गरेको छ । समितिका अध्यक्ष किशोर थापा नियुक्ति हुने वित्तिकै खजुरावासीका लागि ओपीडी शुल्क निशुल्क गरेका हुन् । अस्पतालले ओपीडी शुल्क ५० रुपैया लिदै आएको थियो । खजुरावासीका लागि ओपीडी शुल्क निशुल्क गर्दा विरामीको चाप बढ्ने विश्वास गरिएको छ ।
महायज्ञ गरेर संकलन भएको रकमबाट क्यान्सर अस्पतालको निर्माण शुरु गरिएको हो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामाकरण गरिएको छ ।