नेपालगञ्ज विमानस्थलको स्तरोन्नति अलपत्र
नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलको स्तरोन्नति अलपत्र परेको छ ।
नेपालगञ्ज–दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको विस्तार गर्ने योजना अघि सारिएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोन्नति अलपत्र परेको हो ।
नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तीन अर्बको टेण्डर आव्हान भएको थियो । विभागीय मन्त्रीको निर्देशनमा टेण्डर रद्द गरिएको छ । टेण्डर प्रक्रिया अघि बढेर काम गर्नुपर्नेमा रद्द भएपछि नेपालगञ्ज विमानस्थलको स्तरोन्नति रोकिएको हो ।
२०३७ सालमा बनेको विमानस्थलको टर्मिनल भवन साँघुरो भएको छ । पटक–पटक गरेर एक हजार सात सय मिटरको धावन मार्ग बनाइएको छ । धावनमार्गलाई दुई हजार पाँच सय मिटरको बनाउने योजना अघि सारिएको थियो ।
नेपालगञ्ज काठमाडौंपछिको व्यस्त हुने विमानस्थलमा पर्छ । यहाँबाट दैनिक ५० देखि ६० वटा उडान हुन्छन् ।
पछिल्लो केही वर्षदेखि नेपालगञ्ज–दिल्ली उडानका लागि नियमित प्रयास भइरहेको छ । नेपालगञ्ज विमानस्थलको स्तरोन्नति भएमा नेपालगञ्ज–दिल्ली उडान सम्भव रहेको छ । पश्चिम नेपालको व्यस्त विमानस्थलको स्तरोन्नति गर्नुपर्नेमा मन्त्रीले आफ्नो क्षेत्रतिर बजेट पार्ने प्रयास गर्दा नेपालगञ्ज पछाडी धकेलिएको छ ।
नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्जका प्रमुख सुभाष झाले पुरानो टेण्डर तोकिएकाले नयाँ टेण्डर हुने बताउनुभयो । ‘केन्द्रबाट ठेक्का प्रक्रिया अघि बढेको हो । त्यसबारेमा हामीलाई धेरै थाहा हुँदैन, प्रमुख झाले भन्नुभयो, पुरानो ठेक्का तोडिएको छ । अब नयाँ होला ।’
नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको लागि टेण्डर प्रक्रिया अघि बढिसकेर सम्झौता गर्ने बेलामा बजेट अभाव भनेर रोकिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको लागि छुट्याइएको बजेट अन्यत्र लगिएको हो भने नेपालगञ्जवासी चुप लागेर नबस्ने बताउनुभयो । ‘नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि छुट्याएको तीन अर्ब अन्यत्र लगेको कुरा सुनेको छु । यदि त्यसो हो भने नेपालगञ्जवासी चुप बस्दैनन्, मेयर डा. राणाले भन्नुभयो, हामी तत्कालै यस विषयमा छानबिन गरेर सरकारविरुद्ध मुद्दा हाल्छौं ।’
नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जका मेयर डा. राणाले लगातार प्रयास गरिरहनु भएको छ । भारतीय पर्यटकलाई मानसरोबरलगायत पश्चिम नेपालको पर्यटकीयस्थल पुग्ने छोटो हवाई उडान हो, नेपालगञ्ज विमानस्थल । मानसरोबर जानका लागि भारतबाट ठूलो संख्यामा नेपाल भित्रिने भारतीय पर्यटक अहिले काठमाडौं आएर नेपालगञ्ज आउँछन् । नेपालगञ्ज विमानस्थललाई दिल्लीसँग जोड्न सकेमा भारतीय पर्यटक सिधैं नेपालगञ्ज आएर मानसरोबर जान सक्छन् ।
भारतको ठूलो शहर लखनऊ नेपालगञ्जदेखि अझ नजिक पर्छ । नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–लखनऊ उडान हुन सकेमा यस क्षेत्रको पर्यटन व्यवसायमा फस्टाउने विश्वास गरिन्छ । नेपालकै पर्यटन विकासमा कोशे ढुंगा सावित हुन सक्ने भएकाले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिमा अघिल्लो सरकारले महत्वका साथ काम थालेको थियो । विभागीय मन्त्रीको लहडीपनले गर्दा नेपालगञ्ज विमानस्थलको गुरुयोजना नै अलपत्र परेको छ ।
विमानस्थलको स्तरोन्नति नहुँदा घरेलु उडान पनि असुरक्षित रहेको छ । नेपालगञ्जदेखि काठमाडौं, पोखरासँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा उडान हुने गर्दछ । धावनमार्ग नजिकै ठूलो झाडी रहेकाले जंगली जनावरको चुनौती उत्तिकै रहेको छ । केन्द्रबाट आवश्यक बजेट नआउदा विमानस्थलका सानातिना काम पनि हुन सकेको छैन ।