लुम्बिनीका किशोरीको नेपालगञ्जमा बन्द प्रशिक्षण
नेपालगञ्ज – नेपालगञ्जमा लुम्बिनी प्रदेशको यु–१९ केटीको क्रिकेट बन्द प्रशिक्षण शुरु गरिएको छ ।
चैत्र ६ गतेदेखि ११ गतेसम्म धनगढीमा हुने प्रतियोगितालाई मध्येनजर गरेर नेपालगञ्जमा लुम्बिनी प्रदेशको टीमको बन्द प्रशिक्षण गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) लुम्बनी प्रदेशका अध्यक्ष दुर्गा थापाका अनुसार, लुम्बिनी प्रदेशको बाँके, दाङ, रुपन्देही र नवलपरासीका २४ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । बन्द प्रशिक्षणमा रहेका २४ जनामध्येबाट १४ जनाको छनौट हुन्छ ।
प्रशिक्षक दिपेन्द्रप्रताप सिंहले किशोरीलाई प्रशिक्षण दिइरहनु भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाको बाहिरपट्टी रहेको मैदान र सिद्धान्तजंग शाहीले सञ्चालन गरेको ज्योती एकेडेमीमा प्रशिक्षण भइरहेको छ । कर्णाली प्रदेशका समेत अध्यक्ष रहेका थापाले फिल्डिङ र म्याच अभ्यास राँझा र नेट अभ्यास ज्योती एकेडेमीमा भइरहेको जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा रहेका २४ जनाका बीचमा चैत्र १ र २ गते अभ्यास म्याच हुने र त्यहाँबाट लुम्बिनीको १४ जना खेलाडी छनौट हुने अध्यक्ष थापाले बताउनुभयो ।
नेपाली महिला क्रिकेटको शुरुवात भएको नेपालगञ्जमा पछिल्लो वर्षमा महिला क्रिकेट उत्पादन हुन सकेको छैन । कुनै बेला नेपाली राष्ट्रिय टीममा कप्तानसहित आठ जनासम्म खेलाडी पर्ने बाँकेमा अहिले खस्किएको छ । बाँकेमो क्रिकेटलाई फेरि माथि उठाउन क्यान बाँके लागि परेको छ । पछिल्लो समयमा यहाँ नियमित क्रिकेट प्रतियोगिताहरु भइरहेका छन् । नेपालगञ्जमा क्रिकेट मैदानको समस्या यथावत रहेको छ । मंगलप्रसाद स्कूलको मैदानको भरमा रहेको नेपालगञ्जले पछिल्लो समयमा राँझास्थित सेनाको बाहिरपट्टीको मैदानमा अभ्यास गराउन थालेको छ ।