निकुञ्जमा विदेशी पर्यटक : बाघ र चौका हेर्न लालायित

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ ।
निकुञ्ज घुम्न आएको एउटा टोलीले तीन दिन होमस्टेमा बसेर बाघ र चौका हेरेका छन् । प्रचार प्रसार बढ्दै गर्दा विदेशी पर्यटकको गन्तब्य बाँके राष्ट्रिय निकुञ्ज हुन थालेको हो । निकुञ्जका प्रमुख प्रमोद भट्टराईले प्रचार प्रसार बढेकाले विदेशी र आन्तरिक पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो । ‘विदेशी पनि बढेका छन् । आन्तरिक पर्यटकको संख्या धेरै बढेको छ । आज नै एकैलटमा २१ जनाको टोली आएको थियो, सबैलाई एकैपटक हात्ती उपलब्ध गराउन सकिएन, मिलाउदैछु, भट्टराईले भन्नुभयो ।
गाभर भ्याली होमस्टेको सञ्चालक कृष्ण चौधरीले तीन महिनायता १२ जना विदेशी पर्यटकले निकुञ्जको सफारी गरेको बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जमा आउने विदेशी पर्यटकले बाघ र चौका हेर्ने गरेका छन् । चौधरीका अनुसार, १२ जनामध्ये तीन जनाले चौका हेर्ने मन गरेका थिए । उनीहरुले सहजै हेरे पनि । दुई जनाले नजिकबाट चितुवा हेरेर गएका छन् ।


विदेशी पर्यटक तीन दिनसम्म होमस्टे बसेर बाघ र चौका हेरेका हुन् । ‘केही पाहुनाहरु एक वा दुई दिनमा फर्किन्छन्, एउटा समूहले तीन दिन बसेर बाघ र चौका हेरेर गएको छ, चौधरीले भन्नुभयो, उनीहरु खुशी भएर गएका छन् । फेरि आउँछन् ।’
निकुञ्जमा वाकरुट, वन पथ बनाइएको छ । केही विदेशी मज्जाले हिड्न मन पराउने गर्दछन् । हिडेर वन्यजन्तु र मनोरम दृश्यको अवलोकन गर्छन् । बाँके राष्ट्रिय निकुञ्जमा विदेशी आएको तथ्यांक लामो छैन । आन्तरिक पर्यटक धेरै छन् । नेपाल भ्रमण वर्षको शुरुवात बाँके राष्ट्रिय निकुञ्जबाट भएकाले प्रचार प्रसार बढ्दो रहेको छ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निकुञ्जमा गएर हात्ती सफारी गरेका थिए ।
निकुञ्जका प्रमुख भट्टराईका अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन् । दुई सय बढी चौका छन् । नेपाल भ्रमणको प्रमुख गन्तब्य स्थलमध्येको बाँके राष्ट्रिय निकुञ्जमा सरकारी तवरबाट खासै गतिविधि हुन सकेका छैनन् । जिल्ला पर्यटन समितिले पनि आफ्नै तरिकाले कुनै कार्यक्रम गरेको छैन ।


प्रकृतिमा रमाउने आन्तरिक पर्यटकको रोजाई गाभर र निकुञ्ज हुन थालेको छ । पछिल्लो समयमा गाभरमा रहेका १७ वटा होमस्टे भरिभराउ हुने गरेका छन् । विदेशीसँगै आन्तरिक पर्यटकले पनि बाघ हेर्ने इच्छा गर्दछन् । हात्ती चढेर जंगल घुम्दै छुट्टै मजा लिन्छन् । संघ संंस्थाहरुले गाभरमा गएर कार्यक्रम गर्ने र जंगल सफारी गरेर आनन्द लिने गरेका छन् ।
यसैबीच, बाँके राष्ट्रिय निकुञ्जमा शनिबारदेखि खरखराई शुरु भएको छ । निकुञ्जबाट खर र बाबियो ल्याउन पाइन्छ । तीन दिनसम्म खरखराई सञ्चालन हुन्छ । निकुञ्जबाट काठदाउरा ल्याउन पाइदैन ।


error: यो सुविधा उपलब्ध छैन !