कांग्रेस बाँकेको सभापतिका लागि चार जनाको मनोनयन दर्ता
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार दिउँसो अढाई बजेसम्म उम्मेदवारी दर्ताको तालिका रहेको थियो ।
सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीका अनुसार, सभापतिमा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावक र समर्थकमा कांग्रेस बाँकेका सभापति किरण कोइराला र क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसी रहेका छन् ।
संस्थापन समूहबाट सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, सभासद् बादशाह कुर्मी र पार्टी उपसभापति सुनिलनरसिंह राणाले सभापतिका लागि मनोनयन दर्ता गरेका छन् । हमालको प्रस्तावक र समर्थकमा नरेन्द्र थापा र रोशनकुमार श्रेष्ठ, कुर्मीको प्रस्तावक र समर्थकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली तथा राणाको प्रस्तावक र समर्थकमा नविनकुमार भट्ट र युवराज शाह रहेका छन् ।
सभापतिबाहेकका अन्य पदाधिकारी र सदस्यमा दुवै प्यानलमा विवाद देखिदैन । उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिंह राणा र कृष्णा कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा सुधांसु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र हमाल र सन्जुकुमारी चौधरी, सहसचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पूर्णकुमार सिंह ठकुरी (पुरन) र विनोद थारुले उम्मेदवारी दर्ता गरेका छन् ।
१४ गते बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । १९ गते मतदान हुने निर्वाचन मण्डलले जनाएको छ । कांग्रेस बाँकेको चुनाव पटक–पटक सर्दै आएको थियो ।