सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी

नेपालगञ्ज – सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ ।
नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिदै शिक्षिका शाहीले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन् । माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाले बलात्कार गरेको आरोप लागेको छ ।
शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् । आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् । शाहीको जाहेरी दर्ता भइसकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिसकेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्नुभयो । ‘सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामीले बुझ्दैछौं, प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भन्नुभयो, आज यसबारेमा अरु प्रक्रिया अघि बढ्छ ।’
सांसद बानिया र महिलाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ । बानियाले २५ लाखको चेक दिएपनि पछि खोसेर लगेको बताएकी छन् । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरेको महिलाको दावी छ । महिलाको स्वास्थ्य जाँच गरिएको छ । रिपोर्ट आइनसकेको बुझिएको छ । ‘दुई पटक बलात्कार, त्यो पनि कण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् ।
यस विषयमा बुझ्न सांसद बानियालाई फोन सम्पर्क गर्दा हुन सकेन । प्रहरी अधिकृतसँग सोमबार दिउँसो सम्पर्कमा आएका बानियाले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !