८४ प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोप

नेपालगञ्ज – बाँकेमा ८४ प्रतिशत बालबालिकालाई मोडर्ना खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, १२ देखि १७ वर्षका ८४.६ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।
स्कूल–स्कूलमा गएर बालबालिकालाई खोप लगाइएको थियो । बाँकेमा १२ देखि १७ वर्षका ६९ हजार ८ सय ३७ बालबालिका रहेका छन् । त्यसमध्ये ५९ हजार ८६ जनालाई खोप लगाइएको छ । दश हजार ७ सय ५१ जना खोपबाट छुटेका छन् ।
खोप सुपरभाइजर श्रेष्ठले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिकामा खोपको कभरेज राम्रो रहेको बताउनुभयो । सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ४१ प्रतिशत रहेको छ । डुडुवामा ५८ र जानकीमा ६२ प्रतिशतले खोप लगाएका छन् ।
बाँकेमा कोरोनाविरुद्धको खोप लगाउने कार्य निरन्तर चलिरहेको छ । जिल्लाको कुल जनसंख्या ६ लाख १९ हजार ३ सय ३७ रहेको छ । १२ देखि १७ वर्षका ६९ हजार ८ सय ३७ र १८ वर्षमाथिका चार लाख ६ हजार एक सय ६३ रहेका छन् । तीन लाख ५२ हजार ७ सय ४५ जनाले पहिलो मात्रा लगाएका छन् । दुई लाख २७ हजार ३८ जनाले दोस्रो मात्रा लगाएका छन् । १३ हजार २ सय ९९ जनाले बुष्टर लगाएका छन् ।
जिल्लाको नरैनापुर गाउँपालिकामा खोपको कभेरज कम रहेको छ । डुडुवा, जानकी, बैजनाथ, राप्तीसोनारीमा सन्तोषजनक प्रगति देखिदैन । स्वास्थ्य कार्यालयले खोप लगाउन छुटेका गाउँबस्तीको अध्ययन गरेर त्यही पुगेर खोप दिने रणनीति बनाएको छ । कोरोनाबाट बच्ने भनेकै खोप लगाउनु भएकाले सरकारले खोपलाई प्राथमिकतामा दिएर अभियानहरु सञ्चालन गरिरहेको छ ।
बाँकेमा पछिल्लो दिनमा संक्रमण दर घटिरहेको छ । ल्याबहरुमा जाँच गर्न आउनेको संख्या पनि घट्दो रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !