रोजगारीमा महिला सहभागिता बढाउन संवाद


काेहलपुर – काेहलपुर नगरपालिका रोजगार सेवा केन्द्रले रोजगारीमा महिलाको सहभागिता बढाउने उद्देश्यले सोमबार बृहत संवाद गरेको छ । रोजगारीमा महिला सहभागिता विषयक उक्त संवादमा सहभागी भएका महिलाले स्थानीय सरकारले आवश्यकताका आधारमा सीपहरु प्रदान गरे रोजगारीको वातावरण सिर्जना हुने बताए । उनीहरुले सीप प्रदान गर्ने सवालमा सबैको पहुँचलाई सुनिश्चित गर्न पनि माग गरे । कोहलपुर नगरपालिका वडा नं.२, लोकनगरकी लक्ष्मी अधिकारीले स्थानीय सरकारबाट आयआर्जन गर्न सक्ने खालका तालिम र सीपहरु आवश्यक रहेको बताइन् । कोहलपुर नगरपालिका वडा नं.१२ की सिर्जना शर्माले आफु रोजगारीतर्फ उन्मुख हुन चाहेपनि सीपको अभावमा व्यवसाय गर्न नसकेको बताइन् । उनी सीप सिकेर सिलाईकटाई व्यवसाय गर्न चाहेको पनि बताउँछिन् ।
करिव दुई सय महिला सहभागी उक्त संवाद कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले महिलाहरुलाई उद्यमशील बनाउन पालिकाले विभिन्न खाले सीपमुलक तालिम प्रदान गर्दै आएको बताए । उनले आवश्यकता र मागका आधारमा त्यस्ता तालिमहरु प्रदान गर्दै आएको बताउँदै प्राप्त तालिमको सदुपयोग गर्न पनि सुझाव दिए ।
कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदीले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन सिलाईकटाई, व्युटिसियन, कफी, खाजा तथा नास्ता बनाउने लगायतका वेसिकदेखि एडभान्ससम्मका तालिम प्रदान गर्दै आएको बताइन् । उनले तालिमसँगै आवश्यक प्रविधिको समेत पालिकाले सहयोग गर्दै आएको बताइन् । उनले पालिकाले पूर्वाधार विकासलाई मात्रै नभएर रोजगारीको वातावरण सिर्जना गर्ने गरी आफुहरु लगि परेको बताइन् ।
कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले उद्यमशीलता र रोजगारमा जोडिन सर्वप्रथम व्यक्तिनै सक्रिय हुनुपर्ने बताए । उनले रोजगारीमा महिलाहरुको ठूलो सम्भावना रहेको बताउँदै उद्योग बाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
सफल उद्यमी गीता विकले उद्यमी बन्नका लागि लगानीको भन्दा पनि इच्छाशक्तीको बढी जरुरी रहेको बताइन् ।
कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले महिलाहरुलाई रोजगार क्षेत्रको सम्भावना देखाउन संवाद कार्यक्रम गरिएको बताए । उनले कोहलपुर क्षेत्रका दुई सय महिलाहरुलाई कार्यक्रममा सहभागी गराएर रोजगारी क्षेत्रको अवस्था, पहिचान र सम्भावनाबारे संवाद गरिएको बताए ।


error: यो सुविधा उपलब्ध छैन !