माविस्तरीय मेयर कप भलिबल प्रतियाेगिता सुरु

नेपालगन्ज – नेपालगन्जमा आजदेखि प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
पूर्व खेलाडी समाज, बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको हो ।
आज बिहान भएको उद्घाटन खेलमा पुरुषतर्फ युनाइटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ। त्यस्तै दोस्रो खेलमा धम्बोजी माविले महेन्द्र माविलाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एनएमएले पशुपती मावि राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो ।
यसअघि एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । पूर्व खेलाडी समाज, बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् उपप्रमुख राईले खेलाडीहरुले अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान र नामलाई बढाएको बताए। उनले खेलक्षेत्रको बिकासका लागि प्रतियोगिताको निरन्तरताका साथै खेलाडी उत्पादनमा समेत जोड दिनुपर्ने धारणा राखे । खेलकुद र खेलाडीहरुको संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिका सधैं तत्पर रहने समेत उपप्रमुख राईले प्रतिबद्धता जनाए ।
यही जेठ ३० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन ।
समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन समाजका महासचिव जयन्त कुमार शर्माले गरेका थिए । उदघाटन सत्रमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपालगन्ज-२ का वडाअध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष निरज गौतम लगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !