डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण

नेपालगन्ज – नेपालगन्जमा आजदेखि डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरेको हो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अहिलेको डिजिटल युगमा डिजिटल मिडियाको महत्व बढेको बताउनुभयो । विष्टले पत्रकारितामा पछिल्लो समय स्वघोषित पत्रकारहरुको संख्या बढिरहेको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकतामा जोड दिनुभयो । उहाँले राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता स्वस्थ, निर्भिक र मर्यादित हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारितालाई लोकतन्त्रको आधार स्तम्भको रुपमा चित्रित गर्दै पत्रकारिता डग्मगाउन नहुने उल्लेख गर्नुभयो । नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार नीति निर्माण गरेर कार्यान्वयनमा ल्याइसकेको बताउँदै आगामी दिनमा मिडिया सहकार्यलाई अझ फराकिलो र मजबुत बनाउने बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ बाँकेसंग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले अहिले पत्रकारहरुको पेशागत सुरक्षा मुख्य चुनौतिको विषय बनिरहेको बताउनुभयो । पत्रकार स्वयं पनि यसमा सजग हुनुपर्नेमा उहाँको जोड छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नेपालगन्ज उपमहानगपालिकाले गरिरहेका असल काम र अभ्यासहरुको बारेमा लेख्न तथा कमीकमजोरीहरु औंल्याइदिन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकास गर्ने र पेशाप्रति जिम्मेवारीबोध गराउने उद्देश्यतले तालिम आयोजना गरिएको बताउनुभयो । गिरीले तालिमलाई सिक्ने सिकाउने प्रक्रियामा लिन आग्रह गर्दै तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सचिव कृष्ण ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहसचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

चार दिनसम्म चल्ने तालिम दुई चरणमा सञ्चालन हुनेछ । जेठ २६ र २७ गते पहिलो चरण र जेठ २८ र २९ गते दोस्रो चरणमा तालिम सञ्चालन हुनेछ । दुई चरणमा गरी तालिममा ८० जनाको सहभागिता रहनेछ । तालिममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र पत्रकार केपी ढुंगानाले सहजीकरण गरिरहनुभएको छ । ढुंगानाले डिजिटल मिडिया र दाहालले मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिनुहुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !