सडक दुर्घटनामा दुई जनाकाे मृत्यु


नेपालगन्ज – बाँकेमा सडक दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ ।
गएराती काेहलपुरमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा काेहलपुरका चिरञ्जीवी अधिकारी र सराेज मरासैनीकाे मृत्यु भएकाे हाे ।
नेपाल टेलिकम काेहलपुरमा कार्यरत ५७ वर्षीय अधिकारी सवार स्कुटीलाई माेटरसाइकलले ठक्कर दिएकाे प्रहरीले बताएकाे छ । भे ११ प ९७५१ नम्बरकाे स्कुटीमा श्रीमती गीतादेवी अधिकारीलाई राखेर गइरहेका अधिकारीलाई भे १३ प ३२७७ नम्बरकाे माेटरसाइकलले ठक्कर दिएकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीकाे उपचारकाे क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएकाे थियाे । घाइते श्रीमती गीतादेवीकाे उपचार भइरहेकाे छ ।
अर्काे दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं.६ रझेना निवासी ३६ वर्षीय मरासैनीको मृत्यु भएकाे छ । बुधवार राती ११ बजे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राती साढे १० बजे दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । चिकित्सकले राती ११ बजे मृत घोषणा गरेका थिए ।
उनी नेपालगन्जबाट कोहलपुर आउनेक्रममा कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा आफैले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा परेका थिए । दुर्घटनास्थलमा सडक मर्मतका लागि खाडलहरु खनिएको छ । उनी त्यसैमा परेका थिए ।
राजिव गान्धी युनिभर्सिटी भारतबाट बी फार्मेसी गरेका उनी औषधी उत्पादन गर्दै आएको रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !