हिसाव राख्न सिकाउँदै ‘सामी’
नेपालगन्ज – सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई आम्दानी र खर्चको लेखाजोखा राख्न सिकाइरहेको छ । सामीले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत हिसाव राख्न सिकाइरहेको हो ।
विदेशमा रहेका आफन्तीले पठाएको रकमको हिसाव देखाउन नसक्दा कलहमात्रै होइन, अपराधसम्म हुने गरेको छ । सामीका जिल्ला कार्यक्रम संयोजक कमलसिंह नेपालीले वित्तीय साक्षरता कक्षाको तालिम लिएकाहरुले हिसाव दुरुस्त राख्न थालेपछि परिवारमा असमझदारी हटेको बताए । उनका अनुसार, जिल्लामा एक हजार ८ सय ५० जनालाई तालिम दिइएको छ ।
बाँकेमा ६ वटा पालिकामा सामी पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन रहेको छ । आगामी वर्षदेखि डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाले पनि कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
बैदेशिक रोजगारीमा घरघरबाट गएका छन् । विदेशबाट घरमा पैसा पठाउँछन् । यहाँकाले आवश्यताका आधारमा खर्च गर्छन् । त्यो पैसालाई कसरी खर्च गर्नेदेखि हिसाव राख्न सामीले सिकाउने गरेको छ ।
सामीले विदेश जानेलाई सूचना तथा परामर्श दिने गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १४ हजार १ सय ५० जनालाई परामर्श दिइएको छ । निशुल्क कानूनी सहायताका लागि एक सय ३ वटा उजुरी आएका छन् । त्यसमध्येमा ४२ वटा समाधान गरिएको छ । गाउँ–गाउँमा मनोसामाजिक समस्या बढ्दो रहेको छ । सामीले ५ सय १६ जनालाई मनोसामाजिक परामर्श दिएको छ ।
विदेश जानेको संख्या दिन प्रतिदिन बढ्दो रहेको छ । यो आर्थिक वर्षमा लुम्बिनी प्रदेशबाट एक लाख ३० हजार ५ सय ८१ जना विदेश गएका छन् । बाँके जिल्लाबाट दश हजार १ सय ८७ जना विदेश गएको तथ्यांक रहेको छ । विदेश गएका व्यक्तिले पठाएको रकमले कुल जीडीपीमा २५ प्रतिशत ओगटेको छ । बैदेशिक रोजगार विभागको तथ्यांकले विदेशबाट आएको रकममध्ये ७२ प्रतिशतबढी दैनिक उपभोग्य बस्तुमा खर्च भइरहेको देखाएको छ । १.९ प्रतिशत बचत हुने गरेको छ । बैदेशिक रोजगारको प्रभावले सामाजिक जीवन भड्किलो छ । आन्तरिक बसाईसराईमा बृद्धि भएको छ । बालबालिका, बृद्धबृद्धामा मनोसामाजिक असर परेको छ । जग्गा बाँझो हुन थालेका छन् । मानव तस्करको चलखेल बढेको सम्बद्धको भनाइ छ ।