आर्मीलाई हराउँदै पुलिस फाइनलमा
नेपालगन्ज – नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज रङ्गशालामा आज सम्पन्न खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेलमा दुवैकाे एक/एक गाेल भएकाे थियाे । २९ मिनेटमा मिना देउवाले गोलले पुलिसले अग्रता लिएकाे थियाे । अन्तिम दस मिनेट राेक्न नसक्दा खेल बराबरीमा सकिएकाे थियाे । ८० मिनेटमा अार्मीकी तुलसा बाेहराले फ्रिकिकमा गाेल गरेकी थिइन् ।
निर्धारित समय बराबरीमा सकिएपछि सिधै पेनाल्टी सुटअाउटबाट निर्णय लिइएकाे थियाे । जसमा पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न सकेनन् ।
आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अञ्चली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् ।
खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा नाथ भइन् । गोलकिपर उषालाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, श्री नम्बर ४ बाहिनी अड्डाका सहायक रथी बिक्रम राणाले संयुक्त रुपमा नगद रु ५ हजार प्रदान गरेका थिए ।
अर्काे सेमिफाइनलमा भाेली एपीएफ र राैतहट भिड्ने छन् ।