बालसुधार गृहमा झडप : चार दर्जन घाइते, स्थिति नियन्त्रणमा


नेपालगन्ज – गएरातीदेखि हानाहान, तोडफोड, आगजनीले तनावगस्त बनेको जयेन्दु बालसुधार गृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालबन्दीको आपसी झगडा झडपमा परिणत भएपछि बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृह अशान्त बनेको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, झडपमा ५१ जना बालबन्दी र ६ जना प्रहरी घाइते भएका छन् । एक जना प्रहरीको खुट्टा नै भाँचिएको छ । घाइतेमध्येका उपचारपछि १८ जना बालबन्दी फर्किएका छन् । अरु घाइतेको नेपालगन्जमा उपचार भइरहेको छ । भाग्दै गरेका दुई जना बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ३५ जनालाई नौबस्ता बालसुधार गृहमा पठाएको छ । केही दिनअघि तीन जना प्रहरी कुट्ने ५ जनालाई पनि नौबस्ता पठाइएको छ । झडपका नाइके ११ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
जयेन्दु बालसुधार गृहमा पटक–पटक झडप हुने गरेको छ । यसअघिको झडपमा एक जनाको मृत्यु नै भएको थियो । १८ वर्षभन्दा कम उमेरका बालबन्दीलाई राख्ने भनिएपनि बालसुधार गृहमा २७/२८ वर्षका युवालाई समेत राखिदा यसप्रकारको झडप हुने गरेको छ ।
बालसुधार गृहमा पटक–पटक झडप भइरहने र गाउँमा समेत लुटपाट हुन थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बालसुधार गृहलाई राम्रो व्यवस्थापन गर्न या अन्यत्र सार्न आग्रह गरे । ‘रातविरातमा कहिले प्रहरी अघिअघि त कहिले बालबन्दी अघिअघि दौडेर गाउँमा पस्छन्, यसले गाउँले त्रसित भएका छन्, वडाध्यक्ष मिश्रले भने, हामीले भोली नै ज्ञापनपत्र बुझाउँछौं । कि बालसुधार गृहको राम्ररी व्यवस्थापन गर्नु प¥यो होइन भने यहाँबाट हटाउनु प¥यो ।’


error: यो सुविधा उपलब्ध छैन !