सरकारलाई असफल हुने छुट छैन – काेइराला

नेपालगन्ज – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

नेपाली कांग्रेस, बाँकेले आज पार्टी कार्यालय  नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले दुबै दलका नेता कार्यकर्ता मिलेर सरकारलाई सफल बनाउनुपर्ने बताए । दुई ठूला दल मिलेर बनेको दुई तिहाईको सरकारले जनआकांक्षा पूरा गर्न सक्नुपर्नेमा कोइरालाको जोड छ । उनले सरकारलाई सही दिशामा अघि बढाउन खबरदारी गरिरहनुपर्ने समेत बताए ।

उनले संविधान संवेदनशील डकुमेन्ट भएकाले सबैको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । डा. कोइरालाले आर्थिक अवस्था र सुशासनमा सुधार नआएको टिप्पणी गर्दै सरकारले राम्रो काम गर्नुपर्नेमा जोड दिए ।

पार्टीको १५औं महाधिवेशन समयमै हुनुपर्ने बताउँदै उनले २०८४ पछि महाधिवेशन भए कांग्रेस कमजोर हुने जिकिर गरे । कोइरालाले समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आम कार्यकर्ताले निरन्तर दबाब बढाइरहनुपर्ने बताए । नेपाली कांग्रेसलाई मजबुत बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने कोइरालाको भनाई छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !